दूध उत्पादन भन्नेबित्तिकै आम उपभोक्ता र किसानले गाई वा भैँसीपालन सम्झन्छन् तर दैनिक चार लिटर दूध दिने ‘सानन’ जातको बाख्रा हुन्छ भन्दा धेरैलाई अचम्म लाग्न सक्छ । अब नेपाली किसानले दूध उत्पादनका लागि बाख्रापालन गर्न सक्ने भएका छन् ।
बाख्रा विकास फार्म चित्लाङले गाईभैँसी पाल्न नसक्ने र थोरै घाँस भएका किसानका लागि दूध उत्पादन गर्ने जातको बाख्रा विकास गरिरहेको छ । वर्षमा दुई पटक बियाउने र एक बेतमा करिब आठ सयदेखि एक हजार लिटरसम्म दूध दिने ‘सानन’ जातको बाख्रा तयार गरिरहेको बाख्रा विकास फार्म चित्लाङले जनाएको छ ।
बाख्राको दूध छिमेकी मुलुक भारतमा प्रतिलिटर एक हजारको दरले बिक्री हुने गरेको छ । सोही जातको बाख्रा किसानले पाल्न सक्ने गरी विकास गरिरहेको बाख्रा विकास फार्म चित्लाङका प्रबन्धक विश्वेश्वरप्रसाद यादवले जानकारी दिनुभयो । उहाँका अनुसार नेपालमा वि.सं.२०७२ मा स्विजरल्यान्डबाट ल्याइएको उक्त बाख्राको सङ्ख्या हाल ३५ वटा पुगेको छ । अब किसानलाई पालनका लागि वितरण गर्ने तयारी रहेको उहाँले बताउनुभयो । दूध उत्पादनका लागि पालिने बाख्रा भएकाले यसलाई गरिबका लागि गाईसरह भन्न मिल्ने उहाँको धारणा छ ।
उहाँले भन्नुभयो, “एउटा बाख्राले दिनमा तीनदेखि चार लिटरसम्म दूध दिन्छ, बाख्राले बच्चालाई दूध खुवाएर पनि यति धेरै दूध आउने गर्छ ।” “हामीले स्थानीय खरी जातको बाख्रा र सानन जातको ‘क्रस’ (दुई जातका बिच प्रजनन प्रक्रिया) उत्पादन गरिरहेका छौँ जसलाई नेपालको कुनै पनि हावापानीमा पाल्न मिल्छ, यी जातका बाख्रा बलिया र निरोगी छन्”, उहाँले भन्नुभयो । दूधमा आत्मनिर्भर हुन पोषिलो दूधका लागि यो जातको बाख्रा उपयुक्त हुने उहाँको भनाइ छ ।
सानो परिवारलाई दैनिक तीनदेखि चार लिटर दूध पर्याप्त हुने र बाख्राको दूधमा कोलेस्टोरेल नहुने भएकाले यो दूध उत्कृष्ट हुने फार्मका पशु प्राविधिक बताउँछन् । कृषि तथा खाद्य सुरक्षा आयोजनामार्फत सञ्चालित बाख्रा विकास फार्म चित्लाङमा पाँचवटा बाख्रा ल्याएर सङ्ख्या बढाउँदै हाल ३५ वटा पुर्याइएको हो । सानन जातको वयस्क बोकाको तौल ९० देखि एक किलोग्रामसम्म हुन्छ । बाख्रा भने ७५ देखि ८० केजीसम्मको हुने फार्मका प्रबन्धक यादवले बताउनुभयो ।
बाख्राको दूध जुनसुकै उमेर समूहले खान मिल्छ । सरकारी दर रेटअनुसार सानन जातको पाठापाठी प्रतिकेजी एक हजारका दरले बिक्री गर्ने गरिएको छ । नेपालमा गरिएको अनुसन्धानबाट सानन जातको बाख्रा समुद्री सतहदेखि एक हजार पाँच सय मिटरदेखि दुई हजार पाँच सय मिटर उचाइसम्ममा पालन गर्न सकिन्छ । अन्य जातका बाख्राभन्दा यी बाख्रा चाँडो हुर्कने र दूध उत्पादनका लागि आहाराको मात्रा बढी दिनुपर्ने हुन्छ । तत्कालीन राणा शासकले वि.सं.२००१ मा स्थापना गरेको भेँडा फार्मपछि बाख्रा विकास फार्ममा परिणत गरिएको हो ।
फार्मले मागअनुसार बाख्रा उपलब्ध गराउन सकेको छैन । फार्ममा उत्पादन भएको भन्दा तेब्बर माग हुने गरेकोे फार्मले जनाएको छ । सरकारी फार्ममा शुद्ध नस्लको बाख्रा पाइने विश्वासले किसानले धेरै माग गर्ने गरेको फार्मका प्रबन्धक यादवको भनाइ छ । फार्मले सानन, सानन र खरीको क्रस तथा शुद्ध खरी गरी तीन जातको बाख्रा उत्पादन गर्दै आएको छ । फार्ममा चरिचरनका लागि बाह्रै महिना हरियो घाँस नहुँदा बाख्रा, भेडापालनमा समस्या हुने गरेको छ । जग्गा पर्याप्त भए पनि चरिचरन क्षेत्र थोरै भएकाले वर्षको छ महिना मात्रै बाख्रा र भेडाले पोषिलो घाँस खान पाउँछन् ।
वर्षायामको घाँसलाई सुकाएर राख्ने तथा नेपियर, मकै आदिलाई साइलेस (घाँसको गुन्द्रुक) बनाएर फार्मले राख्ने गरेको छ । फार्ममा बाख्रा, भेडा, मासुका लागि खरायो र दूधका लागि जर्सी गाई पालिएको छ । किसानले सम्बन्धित स्थानीय तहको सिफारिस ल्याएपछि मात्रै फार्मले बाख्रा बिक्री गर्ने गरेको छ । फार्ममा उक्त जातको एउटा बाख्राले एक बेतमा आठ सयदेखि एक हजार लिटरसम्म दूध दिने गरेको फार्मले जनाएको छ ।
अञ्जली थापा÷रासस