हेटौंडा । बागमती प्रदेश सरकारले असार १ गते आगामी आर्थिक वर्षको बजेट ल्यायो। बजेटमाथिको छलफल मंगलबारबाट सुरु भएको छ।
प्रदेशसभाको बुधवार बसेको बैठकमा ७ मन्त्रालय र संवैधानिक निकायहरूको बजेटमाथिको छलफलका क्रममा प्रदेश सरकारका प्रतिपक्षी दलकै सांसदले तीब्र असन्तुष्टि जनाए।
प्रतिपक्षी दलले बजेटको विरोध गर्नु स्वभाविक कुरा हो। तर, मंगलबार र बुधबार भएको बजेट माथिको छलफलमा फरक दृश्य देखियो। आफ्नै दलको सरकारले ल्याएको बजेटमा सत्ता पक्षकै सांसदहरूले समेत खुलेर असन्तुष्टि व्यक्त गरे।
सत्ता पक्षका सांसदहरूले ‘बजेट सन्तुलित त छैन, तर सहमती छ’ भन्दै सरकारको कटाक्ष गरे।
मंगलबार बजेटमाथिको छलफलमा भाग लिँदै नेकपा एकीकृत समाजवादीकी सांसद मायादेवी शर्माले बजेट सन्तुलित नभएको गुनासो गरिन्। मन्त्रीहरूको निर्वाचन क्षेत्रमा मात्रै बजेटको ओइरो लगाएको उनको आरोप थियो।
उनले रोष्टममा बजेटमाथि असन्तुष्टि व्यक्त गर्दैगर्दा विपक्षी दलका सांसदहरूले टेबल ठोके। कानेखुसी गरे। बजेट सत्तापक्षकै सांसदको असहयोग रहने अनुमान गरे।
तर, ७ मिनेटको समय बिट मार्ने क्रममा उनले भनिन्, ‘बजेट चित्त बुझ्दो त छैन। सन्तुलित र सबै क्षेत्रलाई समेटिएको पनि छैन, तर मेरो पूर्ण समर्थन छ।’
उनको यो शब्द चयनले एकछिन सदनमा हाँसो छायो।
बुधबार पनि बजेटमाथिको छलफल प्रारम्भ भयो। बोल्न चाहने सांसदहरूले आफ्नो नाम टिपाएर छलफलमा सहभागी भए। प्रतिपक्षी दलहरूको गुनासो र असन्तुष्टि त थियो नै। तर बुधबार बसेको प्रदेश सभा बैठकमा पनि सरकार पक्षका सांसदहरूकै असन्तुष्टि रोष्टममा पोखियो।
नेकपा माओवादी केन्द्रबाट निर्वाचित सांसद सरल सहयात्रीले मन्त्रीको योग्यतामाथि नै प्रश्न उठाए। बजेट बनाउने बेला अत्तालिने मन्त्रीले प्रदेशको विकासमा टेवा दिन नसक्ने उनको भनाइ थियो।
सांसद पौडेलले मन्त्रालयको पुनः संरचना गर्नुपर्ने समेत बताए। ५० करोडको योजना बनाउन नसक्ने मन्त्रालयको मन्त्री किन हुने? उनले रोष्टमबाटै प्रश्न गरे।
‘नीति कार्यक्रम महत्वाकांक्षी ल्याउने अनि बजेट ५० लाख बाँड्ने, अर्थमन्त्रीले सोच्नुपर्दैन? अरू मन्त्रालयको केही घटाएर रणनीतिक महत्वका क्षेत्रमा बढाउँ भन्ने लाग्दैन? कि आएको जति पचाउने मात्र हो?’ उनले प्रश्न गरे।
यस्तै, नेकपा एमालेकी सांसद बालकुमारी विश्वकर्माले दलित, अल्पसंख्यक, सिमान्तकृत समुदायको लागि ठोस कार्यक्रम सरकारले निर्धारण नगरेको भन्दै गुनासो पोखिन्। यस विषयमा सरकारलाई पटक-पटक प्रश्न गर्दा पनि एक कानले सुनेर अर्को कानले उडाएको उनको दुखेसो थियो।
उनले भनिन्, ‘मैले बजेटका लागि क्षेत्रगत रुपमा हात फैलिएको छैन। त्यसमा पनि थुप्रै असन्तुष्टि होलान्। तर मेरो असष्तुष्टि रहे पनि बजेटमा भने समर्थन छ।’
त्यसोत नेकपा एकीकृत समाजवादीका संसदीय दलका नेता कृष्ण प्रसाद शर्मा खनालले पनि रोष्टममा पुग्ने बित्तिकै अर्थमन्त्रीतर्फ इंगित गर्दै बजेटमाथि असन्तुष्टि जनाए।
रोष्टममा पुग्ने बित्तिकै पहिलो वाक्यमै हाँस्दै भने, ‘बजेटमाथि त्रुटि भएको अर्थमन्त्रीज्यूले स्वीकार गरिसक्नुभयो। सच्याउँछु भन्नु भएको छ। सच्याउनुहोला। यति भन्दैगर्दा बजेटमाथि विरोध गर्न त भएन।’
मंगलबारबाट सुरु भएको आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेटमाथि उठेका प्रश्नहरूको बिहीबार बस्ने प्रदेश सभा बैठकमा सम्बन्धित मन्त्रालयका मन्त्रीहरूले जवाफ दिने सचिवालयले जनाएको छ। नेपाल खवरबाट ।