एसईई परीक्षाको नतिजा सार्वजनिक

माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले आज बिहान एसईईको नतिजा सार्वजनिक गरेको हो ।

परीक्षामा सहभागी कुल विद्यार्थीमध्ये ४७ दशमलव ८६ प्रतिशत विद्यार्थी मात्रै उत्तीर्ण भएको बोर्डले जनाएको छ । जसमा १८६ जनाको ४ जिपिए ल्याएका छन् भने ५२ दशमलव १४ प्रतिशत परीक्षार्थी फेल भएका छन् ।

२२१ जना परीक्षार्थीको परिक्षा रद्द भएको छ । ४ लाख ६४ हजार ७८५ जना परीक्षार्थीमध्ये २ लाख ४२ हजार ९२ को एनजी आएको हो ।

यो पटक बोर्डले नयाँ ‘लेटर ग्रेडिङ’ प्रणालीअनुसार नतिजा सार्वजनिक गरेको हो । लेटर ग्रेडिङ पद्धति (तेस्रो संशोधनसहित) अनुसार सैद्धान्तिकतर्फ ३५ प्रतिशत अङ्क नल्याउने विद्यार्थी फेल अर्थात् ‘नन ग्रेडेड’ (एनजी) हुनेछन् ।

जसमा सैद्धान्तिक ७५ पूर्णाङ्कका विषयमा कम्तीमा २७ अङ्क र आन्तरिक मूल्याङ्कन २५ पूर्णाङ्कमा कम्तीमा १० अङ्क प्राप्त गरेको हुनुपर्छ ।

दुई विषयमा ‘एनजी’ आएको विद्यार्थीले एक महिनापछि हुने पूरक परीक्षामा सामेल हुन पाउने बोर्डले जनाएको छ ।

२०८० चैत १५ देखि २७ गतेसम्म सञ्चालित एसईईमा चार लाख ८८ हजार परीक्षार्थी सहभागी थिए ।

एसइई नतिजा वेबसाइट, एसएमएस र आइभीआरबाट हेर्न सकिनेछ । आइभीआरका लागि नेपाल टेलिकमको ल्यान्ड लाइन फोन तथा मोबाइलबाट १६०० डायल प्राप्त निर्देशनअनुसार नतिजा थाहा पाउन सकिने बोर्डले जनाएको छ ।

मुख्य समाचार शिक्षा समाचार समाज स्थानीय