सरकारको समर्थन फिर्तासम्बन्धी एमालेको पत्र संसद् सचिवालयमा दर्ता, एमाले अब प्रतिपक्षमा बस्ने

सरकारबाट बाहिरिएको एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएको पत्र सङ्घीय संसद् सचिवालयमा दर्ता गराएको छ ।

प्रमुख सचेतक महेश बर्तौलाले आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई दिएको समर्थन फिर्ता लिएकोसम्बन्धी पत्र संसद् सचिवालयमा दर्ता गराउनुभएको हो । पत्रमा राष्ट्रिय सहमतिको सरकार गठन गरी राजनीतिक स्थायित्व गर्ने उद्देश्यले नयाँ सरकार गठनको पहल थालिएको भन्दै असार १९ गतेदेखि लागू हुने गरी समर्थन फिर्ता लिइएको उल्लेख छ ।

पत्रमा समर्थन फिर्ताबारेको जानकारी प्रधानमन्त्रीलाई समेत गराइसकिएको हुँदा एमाले संसदमा प्रतिपक्षमा रहने उल्लेख छ । कांग्रेससँग नयाँ सत्तागठबन्धनको सहमति गरेसँगै एमालेका सबै आठ जना मन्त्रीले राजीनामा दिइसकेका छन् । उनीहरूको राजीनामा स्वीकृत भइसकेको छ ।

गएको फागुनमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कांग्रेससँगको गठबन्धन तोड्दै एमालेसँग गठबन्धन गरेपछि रघुवीर महासेठको नेतृत्वमा सरकारमा एमालेका आठ जना मन्त्री सहभागी थिए ।

गएको १७ गते नेकपा (एमाले) र नेपाली कांग्रेसका बीचमा सहमति भएको थियो । एमाले र कांग्रेस दुवैले राजीनामा दिन प्रधानमन्त्री प्रचण्डलाई आग्रह गरिसकेका छन् । प्रधानमन्त्री प्रचण्डले संवैधानिक व्यवस्थाअनुसार ३० दिनभित्र विश्वासको मत लिने बताउँदै आउनुभएको छ ।

मुख्य समाचार राजनीति समाचार