काठमाण्डौका सबै खोला र नदीमा ठूलो बाढी, करिडोर क्षेत्रमा प्रहरी परिचालन

हिजो शुक्रवारदेखि नियमित परिरहेको पानीका कारण काठमाण्डौका बाग्मती, विष्णुमती, मनोहरा, हनुमन्तेलगायत मुख्य नदीसहित सहायक नदीहरूमा पानीको बहाव उच्च भएको छ । सडकभरि पानी जम्मा भएको छ । कति ठाउँका नदी किनारासम्मै पानी आइपुग्दा नजिकका केही ठाउँहरू डुबानमा परेका छन् ।

बाग्मती नदी थापाथली र बल्खुको सुकुम्बासी बस्तीमा पसेको छ । भक्तपुरको हनुमन्ते खोलामा आएको बाढी सतहभन्दा माथि पुगेर बस्तीमा पस्न थालेको छ । भक्तपुरको हनुमान घाँट, सूर्यविनायकका राममन्दिर, शान्ति निकेतन माध्यमिक विद्यालय, बाराहीस्थानलगायत क्षेत्र डुबानमा परेको छ । राममन्दिर, बाराही स्थानका मन्दिर, विद्यालय र नदी किनारका बस्तीमा पानी पसेको छ ।

भारी वर्षाका कारण हरेक वर्ष हनुमन्ते नदीको बाढीका कारण भक्तपुर नगरपालिका क्षेत्रको राम मन्दिर, बाराही क्षेत्रदेखि हनुमन्ते नदी किनारका मध्यपुर थिमि क्षेत्रको राधेराधे, सूर्यविनायकको बालकोट, चारदोबाटो, मनोहरा खोला किनारको जडीबुटीको सुकुम्बासी बस्तीलगायतको क्षेत्र डुबानमा पर्दै आएको छ ।

भक्तपुरका प्रमुख जिल्ला अधिकारी रोशनीकुमारी श्रेष्ठले बाढी, पहिरो र डुबानबाट हुनसक्ने क्षति न्यूनीकरण गर्न प्रशासनले सुरक्षा तह, चार वटै नगरपालिका र नेपाल रेडक्रस सोसाइटीलाई तयारी अवस्थामा राखेको बताउनुभयो ।

यस्तै अविरल वर्षाका कारण काठमाण्डौ उपत्यकाका खोला नदीमा जलसतह बढेपछि सुरक्षा निकाय सतर्कतामा छन् । काठमाण्डाै उपत्यका प्रहरी कार्यालयका प्रवक्ता एवम् प्रहरी वरिष्ठ उपरीक्षक दिनेशराज मैनालीले उपत्यकाका करिडोर क्षेत्रमा सम्भावित जोखिम रोक्न प्रहरीको गस्ती थालिएको जानकारी दिनुभयो । उहाँले बाग्मती, विष्णुमती, मनहरा, हनुमन्तेलगायत सबै नदी खोलाका करिडोरमा अहिले प्रहरीको गस्ती जारी रहेको जानकारी दिनुभयो । उहाँले अहिलेसम्म काठमाण्डौ उपत्यकामा विपद्जन्य घटना नभएको पनि जानकारी दिनुभयो ।

पानी नियमित परिरहेकोले नदीहरूमा जल प्रवाह अझै बढ्न सक्ने देखिएको छ । काठमाण्डौ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारले नदी किनारामा रहेका व्यक्तिहरूलाई उच्च सतर्क रहन आग्रह गर्दै बाढीजन्य विपद् परेमा महानगरपालिकाका हटलाइन १६६००१०५५११, ११८० र महानगर प्रहरी बलको हटलाइन ९८५१३५६५०९ मा सम्पर्क गर्न अनुरोध गर्नुभएको छ ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले यही असार २१ गतेदेखि २७ गतेसम्मको मौसम पूर्वानुमान गर्दै सबै प्रदेशका धेरै ठाउँहरूमा हल्कादेखि मध्यम र केही ठाउँहरूमा ठूलो पानी पर्ने बताएको छ ।

 

 

मुख्य समाचार समाचार समाज स्थानीय