मकवानपुरका किसान अहिले धान रोपाइँमा व्यस्त छन्। पानी परेसँगै जिल्लाका किसानहरु धमाधम रोपाइँ गर्न व्यस्त भएका हुन्। तीन र चार दिनदेखि निरन्तर वर्षा भइरहेको छ।
अहिले बिहानदेखि बेलुकासम्म किसानलाई खेतमा देख्न सकिन्छ। गाउँभरिकै किसानहरु अहिले रोपाइँमा लागेको हेटौँडा ६ का किसान लक्ष्मण घिमिरेले बताए। पानी परिरहेको र ब्याडमा राखेको बिउ पनि तयार भएकोले रोपाइँ यहीबेला गरिहाल्ने हतारमा किसान देखिएका उनले बताए।
यसैबीच किसानहरुले खेतमा काम गर्ने मजदूर नपाउँदा भने समस्या हुने गरेको छ। पानी परेसँगै किसानहरु एकैपटक धान रोपाइँमा लागेकोले पनि काम गर्ने मान्छे पाउन समस्या भएको किसानहरु बताउँछन्।
आकाशे पानीको भरमा खेती गर्दै आएका किसानका लागि यसपाली समयमै वर्षा भएकाले सहज भएको छ ।
मकवानपुरमा सोना मन्सुली, मन्सुली,, हर्दिनाथ–१ ९१४४२०, , बासमती, हाइब्रिड जातको धान रोपिन्छ। जिल्ला कृषि ज्ञान केन्द्रले दिएको जानकारीअनुसार बागमती प्रदेशमा ४६ हजार ४४ हेक्टर (४०.२ प्रतिशत)धान रोपाइ सम्पन्न भएको छ।