राष्ट्रपति युरोप जाँदा साढे २ करोड खर्च

सरकारले गत आर्थिक वर्ष ०८०/८१ मा १० खर्ब ७४ अर्ब ९७ करोड मात्र राजस्व संकलन गरेको थियो। राजस्व संकलन वार्षिक लक्ष्यको ७५.५६ प्रतिशत मात्रै उठेको छ ।

सरकारले १४ खर्ब २२ अर्ब ५४ करोडको राजस्व संकलन गर्ने लक्ष्य लिएको थियो । तीन खर्ब ५८ अर्ब ५७ करोडले कम राजस्व संकलन गरेपनि सरकारले खर्च भने कुस्त गरेको छ । विकास निर्माणमा खर्च भएको होइन फजुल खर्च। त्यसका दुई उदाहरण हेरे प्रस्ट हुन्छ

राष्ट्रपति रामचन्द्र पौडेल गत २९ जेठ मा स्वीट्जरल्यान्ड हुँदै युरोप पुगेका थिए। अन्तर्राष्ट्रिय श्रम सम्मेलनमा गएका पौडेलको युरोप भ्रमणमा झन्डै साढे दुई करोड रुपैयाँ खर्च भएको पाइएको छ। उनको युरोप भ्रमणका क्रममा भएको २ करोड ४३ लाख रुपैयाँ खर्च अर्थ मन्त्रालयले जनाएको छ। यो रकम अर्थ मन्त्रालयले अर्थ विविध शीर्षकबाट परराष्ट्र मन्त्रालयलाई उपलब्ध गराएको पाइएको छ। हुन् त राष्ट्रपति पौडेलको युरोप भ्रमणको हवाई टिकट रद्द गर्दा ५५ लाख खर्च भएको थियो।

कतारी राजा शेख तमिम बिन हमादको नेपाल भ्रमणमा सरकारको साढे दुई करोड खर्च भएको छ। उनी दुईदिने भ्रमणका लागि गत वैशाखमा नेपाल आएका थिए। भ्रमणमा आएका बेला सरकारले सार्वजनिक विदा दिएको थियो। विदाको दिन पनि काम गरेको भन्दै कर्मचारीले भत्ता खाएका छन्, त्यसबाहेक थुप्रै फजुल खर्च भएको हो।

राष्ट्रपति कार्यालय र परराष्ट्र मन्त्रालयमार्फत ठूलो रकम खर्च भएको छ।अर्थ मन्त्रायका अनुसार कतारी राजाको नेपाल भ्रमणमा राष्ट्रपति कार्यालयका नाममा १ करोड २९ लाख ५० हजार रुपैयाँ खर्च भएको छ । परराष्ट्र मन्त्रालयले कतारी राजाको भ्रमणमा भएको खर्चका नाममा १ करोड १७ लाख ५१ हजार रुपैयाँ थप रकम रकमान्तर भएको छ।यसरी दुई निकायका नामा २ करोड ४७ लाख १ हजार रुपैयाँ खर्च भएको अर्थ मन्त्रालयले जनाएको छ।

मुख्य समाचार राजनीति समाचार