पूर्वप्रधानमन्त्री सुशील कोइरालाको ८५औँ जन्मजयन्ती मनाइँदै

तत्कालीन नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री सुशील कोइरालाको ८५औँ जन्मजयन्ती आज विभिन्न कार्यक्रम गरी मनाइँदै छ । विं.सं. १९९७ साउन २८ गते जन्मनुभएका सभापति कोइराला प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाबाट प्रभावित भएर राजनीतिमा लाग्नुभएको थियो ।

संविधानसभामा प्रतिनिधित्व गर्ने सबै दललाई मिलाएर कोइरालाको नेतृत्वमा २०७२ असोज ३ गते संविधान जारी भएको थियो । फलस्वरूप नेपाली नागरिकको २००७ सालदेखिको चाहनाबमोजिम संविधानसभाबाट संविधान बनाउने अभिभारा स्वर्गीय नेता कोइरालाको कार्यकालमा पूरा भयो ।

देशमा राजनीतिक परिवर्तनका लागि विभिन्न समय र कालखण्डमा नेतृत्वदायी भूमिका निर्वाह गर्नुभएका कोइरालाले जीवनपर्यन्त प्रजातान्त्रिक सिद्धान्त अनुकूलको आचरण गर्नुभएका कारण नेपाली राजनीतिमा सादगी नेताका रूपमा परिचय स्थापित छ ।

सुशील कोइराला मेमोरियल फाउण्डेशनका अध्यक्ष एवम् कांग्रेसका पूर्वमहामन्त्री डा. शशाङ्क कोइरालाले स्वर्गीय कोइरालाले जीवनमा पुर्‍याएको योगदानको सम्झनामा फाउण्डेशनले विभिन्न रचनात्मक कार्यक्रम गर्ने बताउनुभयो ।

मुख्य समाचार राजनीति समाचार