मउवा संघको माग पूरा गर्न सकिँदैन: हेटौंडा उपमहानगर

हेटौंडा उपमहानगरपालिकाले मकवानपुर उद्योग वाणिज्य संघको माग पूरा गर्न नसकिने जनाएको छ । उपमहानगरमा साउन १ गतेबाट अर्थ सम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको आर्थिक ऐन, २०८१ लागू भइसकेको अवस्थामा ऐन संशोधन गर्न नसकिने भएका कारण व्यवसायीको मागलाई सम्बोधन गर्न नसकिएको उपमहानगरले जनाएको छ ।

उपमहानगरले चालु आर्थिक वर्ष २०८१÷०८२ को करको दरमा गरेको हेरफेरलाई कायमै राख्ने जनाएसँगै व्यवसायीको माग पूरा नहुने भएको हो ।

मकवानपुर उद्योग वाणिज्य संघले उपमहानगरले करको दरमा गरेको हेरफेरको विरोधमा आन्दोलन गर्ने चेतावनी दिएपनि उपमहानगरपालिका पछाडि नहट्ने भएको हो ।
‘आर्थिक ऐन जारी भइसकेको अवस्था छ । स्थानीय सरकारले आर्थिक ऐन जारी भएपछि करको दर हेरफेर गर्न सक्दैन । त्यसकारण व्यवसायीको माग पूरा गर्न तत्काल सम्भव छैन ।’, हेटौंडा उपमहानगरपालिकाका प्रवक्ता सविन न्यौपानेले व्यवसायी र उपमहानगरवीचको छलफलमा आगामी वर्षमा कसरी समन्वय गरेर अगाडि बढ्न सकिन्छ भनेर प्रस्ताव गरिने बताए ।
चालु आवको साउन २९ गतेसम्ममा घरबाहल करबापत् ४४ लाख ७२ हजार ७९७ रुपैयाँ र व्यवसाय करबापत् ३८ लाख रुपैयाँ २४ हजार ६४० रुपैया संकलन भइसकेको प्रवक्ता सविन न्यौपानेले बताए । उपमहानगरले आर्थिक वर्ष ०७५÷०७६ पश्चात् चालु आवमा मात्रै करको दरमा हेरफेर गरेको हो ।

अर्थ समाचार समाज स्थानीय