टिआरसी विधेयकसम्बन्धी समितिको प्रतिवेदन संसद्‌मा पेस

बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (टिआरसी) विधेयकसम्बन्धी समितिको प्रतिवेदन संसद्‌मा पेस भएको छ।

मंगलबारको प्रतिनिधिसभा बैठकमा कानुन, न्याय तथा मानव अधिकार समितिकी सभापति विमला सुवेदीले उक्त प्रतिवेदन पेस गरेकी हुन् ।

लामो रस्साकस्सीपछि दलहरूबीच टिआरसी विधेयकका प्रावधानमा सहमति जुटेको छ। दलहरूबीचको सहमतिसँगै विधेयक समितिबाट सर्वसम्मत पारित भइसकेको छ। अब बुधबार संसद्‌मा छलफल गरेर टिआरसी विधेयक पारित गर्ने तयारी छ । ​

टिआरसीमा छलफल गर्न समितिले उपसमिति पनि बनाएको थियो । प्रतिवेदन तयार गर्दा समितिका ६ वटा र उपसमितिका १९ वटा बैठक बसेको, ३३ जनाको संशोधनकर्तामध्ये २१ जनासँग छलफल गरेको पनि सभापति सुवेदीले जानकारी दिइन्।

आयोगका पूर्वपदाधिकारी तथा द्वन्द्वपीडितहरू गरी ३९ जनासँग छलफल गरेर विधेयक प्रतिवेदनलाई अन्तिम रुप दिइएको उनले बताइन् ।

मुख्य समाचार राजनीति समाचार