प्रतिनिधिसभा : बालुवा उत्खनन र चोरी निकासी रोक्न सांसदहरूको माग

सांसद राजेन्द्रप्रसाद पाण्डेले गैरकानुनी रुपमा बालुवा उत्खनन र चोरी निकासी गर्ने गिरोहमाथि कारबाहीको माग गरेका छन्।

प्रतिनिधिसभाको आजको बैठकमा उनले बर्खामा अवैधरुपमा त्यस्ता गतिविधि बढेकाले रोक्नुपर्नेमा जोड दिए।

सांसद असिम शाहले अधिकांश युवाहरु विदेशिने गरेको उल्लेख गर्दै स्वदेशमै रोजगारीको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराए।

सांसद रामप्रकाश चौधरीले मधेश प्रदेशमा बजेट पनि कम भएको र गरिबीको रेखामुनि धेरै जनता भएर प्रदेश हरेक कुरामा पछाडि परेको बताए।

सांसद प्रेम सुवालले नेपालीले विदेशमा सम्पत्ति राख्न नपाउने कानुन नबनाउदासम्म मुलुकमा भ्रष्टाचार कम नहुने र सरकारी जग्गा व्यक्तिका नाममा बनाउने काम रोक्नुपर्नेमा जोड दिए।

सांसद चित्रबहादुर केसीले देशभर अविरल वर्षाका कारण जनधनको क्षति भएको उल्लेख गर्दै बाग्लुङमा ११ जनाको ज्यान गएको र ३ जना ट्रमा सेन्टरमा उपचार भइरहेको हुँदा पहिरोपीडितलाई सहयोग गर्न अनुरोध गरे।

सांसदहरु राजेन्द्रकुमार केसी र तारा लामा तामाङले विद्युत् महसुल बक्यौतासम्बन्धी धारणा राखे।

सांसद रञ्जु झाले भ्रष्टाचार निवारण ऐनमा भ्रष्टाचारको मुद्दामा हदम्याद राख्न नहुने माग गर्दै वर्तमान स्वास्थ्य तथा जनसङ्ख्यामन्त्रीले स्वास्थ्य बीमालाई १ लाखबाट बढाएर ५ लाख पुर्‍याउने घोषणा गरेकोमा प्रसंशा गरिन्।

सांसद अब्दुल खानले बर्दियाका विभिन्न क्षेत्रमा बाढी र डुबानका कारण क्षति पुगेको विषयमा सरकारको ध्यानाकर्षण गराए।

सांसद ध्रुवबहादुर प्रधानले धार्मिक पर्यटनको नेपालमा राम्रो सम्भावना भएको र पर्यटन भित्र्याउन सरकारले योजना बनाउनुपर्ने बताए।

सांसद प्रेमबहादुर महर्जनले बाढीपहिरोका कारण जनधनको क्षति भइरहेकोप्रति सरकारको ध्यानाकर्षण गराउँदै दूषित पानीले मानिस विरामी परिरहेका बताए। सांसद निशा डाँगीले देशमै बस्ने वातावरण बनाउन सरकारको ध्यानाकर्षण गराइन्।

मुख्य समाचार राजनीति समाचार