रोटरी मकवानपुर राष्ट्रिय भेट्रान्स फुटबल भदौ २४ गतेबाट हुने

बागमती प्रदेशको राजधानी हेटौंडामा आगामी भदौ २४ गतेबाट ‘तेस्रो रोटरी मकवानपुर पिप्ले क्याम्पा राष्ट्रिय भेट्रान्स फुटबल प्रतियोगिता २०८१’ हुँदैछ ।

हेटौंडा–५ स्थित क्याम्पा रंगशालामा हुने उक्त प्रतियोगिता रोटरी क्लब अफ मकवानपुरको आयोजना, पिप्ले युवा क्लब सह–आयोजक र रोट्«क्यक क्लब अफ मकवानपुरसँगको सहकार्यमा हुन लागेको हो ।

सो बारे बुधबार पत्रकार सम्मेलनमार्फत् रोटरी क्लब अफ मकवानपुरका वर्ष २०२४–२५ का अध्यक्ष अनिल अग्रवालले जानकारी दिएका हुन् । जलन प्राथमिक उपचार केन्द्र निर्माण अभियानलाई सहयोग गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको अध्यक्ष अग्रवालले बताए ।

उनले प्रतियोगितामा देशका विभिन्न स्थानका १६ वटा क्लबले सहभागिता जनाउने बताए । उनका अनुसार, प्रतियोगितामा हेटौंडा भेट्रान्स क्लब, नागस्वती भेट्रान्स क्लब, सिमरा भेट्रान्स क्लब, नवजागृति भेट्रान्स क्लब, वीरगञ्ज एकेडेमी भेट्रान्स क्लब, युनिटी भेट्रान्स क्लब, पूर्वेली भेट्रान्स क्लब, निजगढ भेट्रान्स क्लब, हरिवन भेट्रान्स क्लब, सानोगौचरण नाईटकिङ भेट्रान्स क्लब, फ्रिडम फाइटर भेट्रान्स क्लब, चितवन भेट्रान्स क्लब, अभिषेक चर्च भेट्रान्स क्लब, पोखरा भेट्रान्स क्लब, रोटरी पिप्ले भेट्रान्स क्लब (आयोजक) र अर्को एक गरी १६ क्लबले सहभागिता जनाउने भएका हुन् ।

सो प्रतियोगितामा प्रथम र द्धितीय हुने टिमले क्रमशः २ लाख २ हजार २ सय २२ रुपैयाँ र १ लाख १ हजार १ सय १ रुपैयाँ प्राप्त गर्नेछन् ।

यसैगरी, सर्वश्रेष्ठ प्रशिक्षकले १० हजार, सर्वश्रेष्ठ खेलाडीले ५ हजार, सर्वश्रेष्ठ किपरले ५ हजार, सर्वश्रेष्ठ डिफेन्सले ५ हजार, सर्वश्रेष्ठ मिडफिल्डरले ५ हजार र सर्वश्रेष्ठ फरवार्डले ५ हजारलगायत विभिन्न विधामा पुरस्कार प्राप्त गर्नेछन् ।

रोटरी क्लब अफ मकवानपुरले यसअघि दुईवटा ‘राष्ट्रिय हेटौंडा भेट्रान्स कप ८ ‘ए’ साइड फुटबल प्रतियोगिता’ आयोजना गरेको थियो ।

ती दुबै संस्करणमा चितवन भेट्रान्स क्लबले बिजेता हाँसिल गरेको थियो ।

खेलकुद समाचार समाज स्थानीय