एमाले मकवानपुरको सल्लाहकार कमिटी अध्यक्षमा बलराम हुमागाई चयन

हेटौंडा । नेकपा एमाले मकवानपुरको जिल्ला सल्लाहकार कमिटी अध्यक्षमा बलराम हुमागाई चयन भएका हुनुभएको छ । मकवानपुरगढी निवासी हुमागाईलाई शनिवार भएको पार्टीको सल्लाहकार कमिटीको बैठकले हुमागाईलाई अध्यक्षमा चयन गरेको पार्टी अध्यक्ष श्रीधर पोख्रेलले जानकारी दिनुभएको छ ।

सल्लाहकार कमिटी अध्यक्षमा उहाँको दोस्रो कार्यकाल हो । हुमागाई मकवानपुरमा कम्युनिष्टको जग बसाल्ने नेतृत्वमध्येका एक हुनुहुन्छ । पञ्चायत कालिन समयमा कम्युनिष्ट आन्दोलनको अग्रमोर्चामा सहभागी हुमागाईलाई जिल्लामा सम्मानित नेताका रुपमा समेत लिने गरिएको छ ।

मकवानपुरगढी गाउँपालिकामा नेकपा एमालेको जग बसाल्ने हुमागाई हुन् । पार्टीले मकवानपुरगढीमा पहिलो पटक सम्पर्क गरेको नेता पनि हुमागाई हुन् । उनकै नेतृत्वमा गढीमा एमाले विस्तार भएको थियो ।

यस्तै, एमाले जिल्ला सल्लाहकार कमिटी सचिवमा चेतनाथ खतिवडा चयन भएका छन् । अध्यक्ष हुमागाई र सचिव खतिवडाले शनिवार एक कार्यक्रमका बीच पद तथा गोपनीयताको सपथ लिनुभएको छ ।

यसैगरी, ज्येष्ठ कम्युनिष्ट मञ्चको बैठकबाट बनमाली सुवेदी अध्यक्ष, चन्द्रकान्ता श्रेष्ठ सचिव चयन भएको पार्टी अध्यक्ष पोख्रेलले जानकारी दिए । पार्टी जिल्ला अध्यक्ष पोखरेलको अध्यक्षता तथा पार्टी केन्द्रीय सदस्यसमेत रहेका जिल्ला ईञ्चार्ज रामेश्वर रानाको प्रमुख आतिथ्यतामा सपथ ग्रहण कार्यक्रम भएको हो ।

मकवानपुरमा कम्युनिष्टको जग बसाल्ने, अग्रज नेताहरुको सल्लाह र युवाहरुको साथमा पार्टीलाई गतिशील ढंगले अगाडि बढाउने पार्टी जिल्ला अध्यक्ष पोख्रेलले बताए ।

राजनीति समाचार स्थानीय