हेटौंडाको रत्ना होटलमा युवती मृत फेला

मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर १०, बसपार्कस्थित रत्ना होटलमा आज बिहान एक युवती मृत अवस्थामा फेला परेका छन् ।

उक्त होटलमा हेटौंडा–११ बस्ने अन्दाजी २३ वर्षीया एलिसा न्यौपाने मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारी जानकारी दिए ।

उनको शव आफन्तले पहिचान गरेको प्रहरी नायव उपरीक्षक भण्डारीले बताए । उनका अनुसार, आइतबार साँझ ५ बजेको समयमा न्यौपानेसँगै अन्दाजी ३० वर्षीय एक पुरुष पनि आएर उक्त होटलको २०५ नम्वरको कोठमा बसेका थिए ।

तर, ती पुरुष भने राति ९ बजे नै कोठाबाट निस्किएर गएको र ती युवती आज बिहान अबेरसम्म पनि ननिस्किएपछि होटल संचालक नबिन राना मगरले प्रहरीलाई जानकारी गराएका थिए ।

प्राप्त जानकारी लगतै प्रहरी नायव उपरीक्षकको कमाण्डमा खटिएको टोली घटनास्थलमा पुगेका थिए । घटनास्थलम पुगेको प्रहरी टोलीले झ्याल खोली भित्र पसेर हेर्दा खाटमाथि सिरकले मुख छोपिएको अवस्थामा न्यौपानेको शव भेटिएको प्रहरी नायव उपरीक्षक भण्डारीले बताए ।

उक्त कोठाको भुईको विभिन्न स्थानमा रगतको दाग पनि देखिएको प्रहरी नायव उपरीक्षक भण्डारीले बताए । मृतक न्यौपानेको शव पोस्टर्माटको लागि हेटौंडा अस्पताल लगिएको र घटनाको बारेमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

समाचार समाज