मकवानपुरमा एकैदिन दुई जनाको शव फेला

मकवानपुरमा सोमबार एकैदिन दुई जनाको शव फेला परेको छ । सोमबार हेटौंडा उपमहानगरपालिका वडा नम्वर १ र वडा नम्वर १० मा एक–एक जना गरी दुई जनाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक एवम् प्रहरीप्रवक्ता लक्ष्मी भण्डारीले जानकारी दिए ।

उनका अनुसार, जिल्लाको हेटौंडा–१, स्थित पाथिभरा मन्दिर नजिकै स्थानीय ७० वर्षीया ठूलीमाया विक मृत अवस्थामा फेला परेको हो । विक आफ्नै घरको सुत्नी कोठमा दुबै कानबाट रगत बगेको अवस्थामा मृत भेटिएकी हुन् ।

उनको हत्या भएको आशंकामा प्रहरीले अनुसन्धानका लागि उनकै नातिलाईनियन्त्रणमा लिएर घटनाको बारेमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

यसैगरी, सोमबार नै हेटौंडा–१०, बसपार्कस्थित रत्ना होटलमा हेटौंडा–११ बस्ने अन्दाजी २३ वर्षीया एलिसा न्यौपाने मृत अवस्थामा भेटिएकी छन् । आइतबार साँझ ५ बजेको समयमा उक्त होटलको २०५ नम्वरको कोठमा बस्न आएकी उनी सोमबार आज बिहान मृत भेटिएकी हुन् ।

न्यौपानेसँगै अन्दाजी ३० वर्षीय एक पुरुष पनि आएर उक्त होटलमा बसेका थिए । तर, ती पुरुष भने राति ९ बजे नै कोठाबाट निस्किएर गएको र ती युवती सोमबार बिहान अबेरसम्म पनि ननिस्किएपछि होटल संचालक नबिन राना मगरले प्रहरीलाई जानकारी गराएका थिए ।

प्राप्त जानकारी लगतै पुगेको प्रहरी टोलीले खाटमाथि सिरकले मुख छोपिएको अवस्थामा न्यौपानेको शव फेला परेको प्रहरी नायव उपरीक्षक भण्डारीले बताए ।

साथै उक्त कोठाको विभिन्न स्थानमा रगतको दाग पनि देखिएको र घटनाको बारेमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको प्रहरी प्रवक्ता भण्डारीले बताए ।

समाचार समाज स्थानीय