मकवानपुरमा गाईभैँसीमा कृत्रिम गर्भाधानप्रति आकर्षण घट्यो

मकवानपुरमा गाईभैँसीमा कृत्रिम गर्भाधानप्रति आकर्षण घट्दोक्रममा छ । घरपालुवा पशुमा कृत्रिम गर्भाधानलाई बढावा दिन राज्यले विभिन्न प्रोत्साहनमूलक कार्यक्रम ल्याएको छ । तर मकवानपुरमा भने कृत्रिम गर्भाधानप्रति किसानको अकर्षण घट्दै गएको छ ।

सरकारले रु २५ मा उपलब्ध गराउँदै आएको गाईभैँसीको कृत्रिम गर्भाधान (एआई सेवा) पशु प्राविधिक र चिकित्सकले महँगो शुल्क लिन थालेपछि किसानको आकर्षण घटेको हो ।
किसानले महँगो शुल्क तिर्नुपरेको गुनासो गर्न थालेका छन् । मकवानपुरको हेटौंडा उपमहानगरपालिका, मकवानपुरगढी गाउँपालिका, भीमफेदी गाउँपालिका, बकैयाँ गाउँपालिका, मनहरी गाउँपालिका लगायतका क्षेत्रमा पशुपालन गर्दै आएका किसानहरुले पहिले कृत्रिम गर्भाधान गर्ने गरेका भएपनि अहिले भने धेरैजसोले भैसीका लागि राँगो, गाइका लागि गोरुको प्रयोग बढी गर्न थालेको मकवानपुरगढी गाउँपालिका–५ का किसान उज्वल तिमल्सीनाले बताए ।

परम्परागत रूपमा भैँसीलाई राँगो र गाईलाई बहर नै खोजेर लगाउँदा आधाभन्दा बढी सस्तो पर्ने गरेको यस क्षेत्रका चिकित्सकले बताए पनि कृत्रिमगर्भाधान गर्नका लागि गएको शुल्क समेत जोडेर लिदा समस्या भएको किसानहरु बताउँछन् । सरकारी सेवा महँगो बन्दा पेसा नै छाडनुपर्ने भएको किसानले बताएका छन् ।

मुख्य समाचार समाचार समाज स्थानीय