नेपाली नारीको महान पर्वका रुपमा रहेको हरितालिका तिज विशेष मानिन्छ । महिलाका सुख दुःख र जीवन संघर्षका कथा सुनाउने चाडको हिन्दु धर्मावलम्बीको मुख्य पर्व हो। तीजलाई रमाइलो पर्वको रूपमा लिइन्छ। नेपाली महिलाहरूको महान् चाड हरितालिका तीज हेटौँडामा भव्य रुपमा मनाइएको छ।
विगत केही दिनदेखि दर खानेदेखि पूजाआजा गर्ने क्रमअन्तर्गत शुक्रबार तीजको व्रत बस्नेदेखि शक्तिपीठ तथा मठमन्दिरमा महिलाको घुइँचो लागेको छ . हेटौँडाको पशुपति मन्दिर, वनसखण्डि मन्दिर, भुटनदेवि मन्दिर, शिव मन्दिर तथा विभिन्न धार्मिकस्थलमा व्रतालु महिला विहानैबाट पूजाअर्चनामा ब्यस्त देखिएका छन्।
आजको दिन व्रत बसी शिव पार्वतीको पूजा, उपासना गरेमा सुख, शान्ति र परिवारको कल्याण हुने धार्मिक विश्वास गरिन्छ । अघिल्लो दिन राति दर खाएकाहरूले तीजको दिन व्रत बस्ने र शिव पार्वतीको पूजा गरेपछि नाचगान गर्ने चलन पनि छ ।
तीजको दिनभन्दा केही अघिदेखि नै नाचगान गर्ने गरिन्छ । पछिल्लो समय भने तीज केही भड्किलो भएको संस्कृतविद्हरू बताउँछन् । आजका दिन पार्टी प्यालेस, खुला ठाउँ र चौरमा भेला भएर महिलाहरूले तीज मनाइरहेका छन् । हेटौँडाको पशुपतिनाथलगायत देशभरका शिवालयहरूमा व्रतालु महिलाहरूको भीड लाग्ने गर्दछ ।
सत्ययुगमा आजैको दिन निराहार व्रत बसी पार्वतीले महादेव स्वामी पाएकीले आजको दिनमा व्रत बस्दा मनोकामना पूरा हुने विश्वास छ । तर यसको अर्थ सबै नारी निराहार व्रत बस्नुपर्छ भन्ने नरहेको धर्मशास्त्रविद्हरू नै बताउँछन् । अटल सौभाग्यको कामनाका लागि व्रत बस्ने गर्छन् । समग्रमा मनोकामना पूर्ण गराउने र सम्पूर्ण परिवारको कल्याणका लागि यो व्रतको प्रयोजन रहेको धर्मशास्त्रीहरुको मत छ ।
यो व्रत सक्नेले निराहार बस्ने भएकाले अघिल्लो दिन व्रतालुहरुले मीठा मीठा परिकार दरका रुपमा खाई आजको व्रतका लागि पूर्व तयारी गर्छन्। विशेषगरी माइती एवं दाजुभाइले छोरीचेली, दिदीबहिनीलाई बोलाई दर खुवाउने गर्दछन्। दर खाएपछि औपचारिक रुपमा सुरु भएको तीज पर्व ऋषि पञ्चमीसम्म मनाइन्छ । तृतीयाका दिन हरितालिका व्रत, चौथीका दिन गणेश भगवानको पूजा र पञ्चमीका दिन स्नान गरी अरुन्धतीसहित सप्तऋषिको पूजा गरी तीज समापन हुन्छ ।
तीज पर्वको अवसरमा सरकारले यो वर्ष पनि महिलालाई बिदा दिएको छ ।