हेटौंडाबाट पथलैयातर्फ जाँदै गरेको ट्रकबाट गाँजा बरामद, दुई जना पक्राउ

हेटौंडाबाट पथलैयातर्फ जाँदै गरेको ट्रकबाट प्रहरीले सोमबार अवैध गाँजा २ सय ४० किलोग्राम बरामद गरेको छ ।

ना.४ ख २०६३ नम्बरको ट्रकलाई बाराको जितपुर–सिमरा उपमहानगरपालिका–२१ मा रोकी जाँच गर्ने क्रममा ट्रकको क्याबिनसँग जोडिएको फल्स बटमभित्र लुकाइछिपाइ राखिएको उक्त परिणामको गाँजा बरामद गरेको प्रहरीले जनाएको छ ।

उक्त गाँजा इलाका प्रहरी कार्यालय अम्लेखगंजबाट खटिएको प्रहरीले बरामद गरेको हो । साथै प्रहरीले चितवनको राप्ती नगरपालिका–३ झुरझुरे बस्ने २६ वर्षीय विज्ञान तिमल्सिना समेत २ जनालाई पक्राउ गरेको छ ।

पक्राउ परेकामध्ये तिमल्सिना ट्रक चालक हुन् । अर्का पक्राउ परेका व्यक्तिको भने प्रहरीले नाम सार्वजनिक गरेको छैन ।

पक्राउ परेका उनीहरुमाथि प्रहरीले आवश्यक अनुसन्धानका साथै कानूनी प्रकृया अगाडि बढाएको छ ।

समाचार समाज स्थानीय