राष्ट्रसङ्घको महासभामा नेपालको हितका विषयमा कुरा उठाउँछु : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त राष्ट्रसङ्घको महासभामा नेपालको हितका विषयमा कुरा उठाउने बताउनुभएको छ ।

आउँदो असोज ४ गते संयुक्त राष्ट्रसङ्घको महासभामा भाग लिन अमेरिका जाने विषय प्रतिनिधिसभाको बैठकलाई जानकारी गराउँदै प्रधानमन्त्री ओलीले जलवायु परिवर्तनका कारण नेपालले भोगेका समस्या र क्षतिपूर्तिबारे आफूले दरिलो कुरा राख्ने बताउनुभएको हो । नेपालले जलवायु परिवर्तन हुने कारणमा कुनै योगदान नदिए पनि त्यसको असर भोगिरहेको कुरा विश्वका नेताहरूसामु राख्ने र क्षतिपूर्तिबारे कुरा उठाउने उहाँकाे भनाइ छ ।

यस्तै ओलीले राष्ट्रसङ्घको महासभामा भाग लिने क्रममा आफूले नेपालको शिर ढल्ने वा प्रतिष्ठा तल पर्ने गरी कुनै पनि काम नगर्ने उल्लेख गर्नुभयाे ।  उहाँले राष्ट्रसङ्घको वडापत्रको पालना गर्दै अरूको आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने र अरूको हस्तक्षेप पनि स्वीकार नगर्ने नेपालको नीतिबारे स्पष्ट गराउने बताउनुभयाे ।

प्रधानमन्त्री ओलीले राष्ट्रसङ्घकाे महासभामा नेपालले अपनाएको शान्ति प्रक्रियाको बाटो, सामाजिक र लैङ्गिक क्षेत्रमा हात पारेको उपलब्धि लगायतका विषयमा पनि सम्बोधन गर्ने बताउनुभएको छ ।

नेकपा माओवादी केन्द्रको अवरोध हटेपछि प्रतिनिधिसभाको आजको बैठक चलिरहेको हो । प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राष्ट्रसङ्घको महासभामा भाग लिन अमेरिका जाने विषय संसद्लाई जानकारी गराउने कार्यसूची रहेकाले संसद् अवरोध नगर्ने माओवादीले निर्णय गरेको हो ।

संसद्को शुरूमै बोल्दै माओवादीका सांसद शक्तिबहादुर बस्नेतले देशकै प्रतिष्ठासँग जोडिएको प्रधानमन्त्रीको भ्रमणबारे आजको संसद्मा जानकारी गराउने विषयको महत्त्वलाई बुझेर संसद् चल्न दिइएको बताउनुभयो । उहाँले नेकपा एमालेका सांसद योगेश भट्टराईले माओवादीको सशस्त्र युद्धलाई हिंसा भनेकोमा विरोध जारी नै रहेको बताउनुभयो ।

मुख्य समाचार राजनीति समाचार