हेटौंडा–काठमाडौं जोड्ने दक्षिणकाली–छैमले सडकको कालोपत्रे गर्ने कार्य स्थगित

बागमती प्रदेशको राजधानी हेटौंडाबाट संघीय राजधानी काठमाडौं जोड्ने सिस्नेरी–दक्षिणकाली–छैमले सडकखण्डको कालोपत्र गर्ने कार्य स्थगित भएको छ ।

हेटौंडा–काठमाडौं जोड्ने छोटो दुरीको उक्त सडकखण्डमा कालोपत्रे गर्ने कार्यका लागि मंगलबारबाट १२ दिन (असोज ८ गतेदेखि असोज १९ गते) सम्म सवारी संचालनमा रोक लगाइएको थियो ।

उक्त खण्डमा कालोपत्रे गर्ने र सो सडक हुँदै संचालन हुने सवारी साधनलाई रोक लागइ वैकल्पिक सडक हुँदै संचालन गर्न आग्रह गरिएको थियो । उक्त कालोपत्रे गर्ने कार्य हाललाई स्थगित गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

बागमती प्रदेश सरकारको लगानीमा निर्माण भइरहेको सिस्नेरी सडक प्रादेशिक सडक गुरुयोजना अन्तर्गतको प्रदेश लोकमार्ग कायम गरिएको छ ।

यस्तै, हेटौंडाबाट काठमाडौं जोड्ने कुलेखानी–फाखेल–मातातिर्थ, कान्तिलोकपथ सडकखण्ड, त्रिभुवन राजपथ, नारायणगढ मुग्लिन सडकखण्डमा पनि हाल सवारी साधन संचालन भइरहेको जनाइएको छ ।

समाचार समाज स्थानीय