हेटौंडा–काठमाडौं जोड्ने सबै सडक थप्प

बागमती प्रदेशको राजधानी हेटौंडाबाट संघीय राजधानी काठमाडौं जोड्ने सबै सडक थप्प भएको छ ।

बिहीबारबाट परेको अविरल वर्षाका कारण शनिबार विभिन्न स्थानमा आएको बाढी र पहिरोले गर्दा हेटौंडाबाट काठमाडौं जाने लामो तथा छोटो दुरीका सबै सडक अवरुद्ध रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

प्रहरीका अनुसार, बकैया–१२ घट्टेपाखा, बकैया–११ लाम्राङ, आपचौरमा पहिरो जाँदा कान्तिलोकपथ सडकमा आवागमन थप्प छ । सोही सडकमा बागमती खोलामा आएको बाढीले भीमफेदी–८ स्थित बागमती खोलाको पुल कटान गरी सडक पूर्ण रूपमा अवरुद्ध भएको छ ।

यस्तै, भीमफेदी–कुलेखानी–सिस्नेरी दक्षिणकाली सडकखण्डको ईन्द्रसरोवर–३ रामचन्द्र भञ्याङमा पहिरो खसेर बाटो पूर्ण रूपमा अवरोध भएको छ भने ईन्द्रसरोवर–२ सिमखोला स्थित लच्कामा सिमखोलमा आएको बाढीले सडक कटान गरी बाटो पूर्ण रूपमा बन्द भएको छ ।

सो सडकखण्डको कुलेखानी जलविद्युत आयोजनाको ड्यामभन्दा तल रहेको सिमखोलाको पुलमा बाढीले क्षति पुर्याएको हो । जलविद्युत आयोजनाको जलाशयबाट छाडिएको पानीको बहावले पुलको एक स्पान र उत्तरतर्फको बाटो एक सय मिटरभन्दा बढी बगाएको प्रहरीले जनाएको छ ।

यस्तै, हेटौंडा–भीमफेदी–कुलेखानी–फाखेल हुँदै काठमाडौं जाने सडकखण्ड अन्तर्गत भीमफेदी–४ रातोमाटे, भीमफेदी–६ ढोकाफेदी, पहिरो खसेर बाटो अवरुद्ध भएको छ । फाखेल हुमाने, चखेल मातातिर्थ सतुङगल खण्डको विभिन्न स्थानमा पहिरो खसेर बाटो पूर्ण रूपमा अवरुद्ध भएको छ ।

यसैगरी, त्रिभुवन राजपथ राजमार्गको पनि विभिन्न स्थानमा गएको पहिरोका कारण हेटौंडा–काठमाडौंतर्फको बाटो अवरुद्ध भएको छ । उक्त बाटोमा आज साँझसम्म पहिरो पन्छाई यातायात सुचारु गर्ने तयारी गरिएको जिल्ला प्रशासन कार्यालय मकवानपुरका प्रमुख जिल्ला अधिकारी (सिडियो) तीर्थराज चिलुवालले जानकारी दिए ।

उनका अनुसार, त्रिभुवन राजपथबाहेक अन्य सडकहरु भने संचालन हुन केही समय लाग्नेछ ।

मुख्य समाचार समाचार समाज