बागमती प्रदेशः बाढी–पहिरोमा परेर ४९ जनाको मृत्यु

बागमती प्रदेशमा बाढी–पहिरो र डुबानमा परेर ४९ जनाको मृत्यु भएको छ ।

असोज ११ र १२ गतेको वर्षाका कारण आएको बाढी–पहिरो र डुबानमा परेर काठमाडौं उपत्यका बाह्ेक उनीहरुको मृत्यु भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।

प्रदेश प्रहरीका अनुसार, बाढी–पहिरोमा परेर धादिङ र काभ्रे जिल्लामा सबैभन्दा बढी मानवीय क्षति भएको छ । त्यहाँ क्रमशः १६ जना (धादिङ) र १२ जना (काभ्रे) को मृत्यु भएको हो ।

यसैगरी, मकवानपुरमा ७ जना, सिन्धुपाल्चोकमा ६ जना, दोलखामा ३ जना, सिन्धुलीमा २ जना, रामेछाप, चितवन र नुवाकोटमा १/१ जनाको बाढी पहिरोका कारण मृत्यु भएको छ । प्रदेशको रसुवा जिल्लामा भने मानवीय क्षति नभएको प्रदेश प्रहरी हेटौंडाले जनाएको छ ।

सो अवधिमा बाढीपहिरो डुबानमा परेर ४० जना घाइते भएका छन् भने ३५ जना बेपत्ता भएका छन् । प्रदेशका सिन्धुपाल्चोकमा १६ जना, दोलखामा एक जना, काभ्रेमा १५ जना, नुवाकोटमा एक जना, धादिङमा ४ जना, मकवानपुरमा ३ जना घाइते भएका छन् ।

उक्त विपद्को घटनामा परेर बेपत्ता भएकाहरुको खोजीकार्य भइरहेको जनाइएको छ । उनीहरुको खोजीकार्य तथा उद्दार गर्न प्रदेशभर ४ हजार ११९ प्रहरी परिचालन गरिएको छ ।

मुख्य समाचार समाचार समाज