बाढीपहिरोपछि डेंगु र हैजाको जोखिम

यतिखेर बाढी, पहिरो र डुबानका कारण देशका धेरै ठाउँको जनजीवन अस्तव्यस्त भएको छ। मंगलबारसम्म देशभर अविरल वर्षाका कारण आएको बाढी, पहिरो तथा डुबानका कारण देशभर २ सयभन्दा बढीको मृत्यु भएको छ।

पहिरो र डुबानका कारण योपटक बाग्मती प्रदेशमा सबैभन्दा धेरै मानवीय क्षति भएको छ। यस्तै हाल बाढीपहिरो र डुबानका कारण मानिसहरूको दैनिक जनजीवन प्रभावित भएको छ। यसले गर्दा बस्ने ठाउँ, खानेकुरा र खानेपानीको पनि समस्या भएको बताइएको छ। वर्षा र त्यसपछिको क्षतिले गर्दा मानिसको दैनिक जीवन सञ्चालनमा जोखिम हुनुका साथै विभिन्न खालका स्वास्थ्य जोखिम बढ्दै गएका छन्।

अविरल वर्षा र त्यसपछि आएको बाढीपहिरो र डुबानका कारण खानेपानीको मुहान प्रदूषित भई पानीजन्य रोगहरू झाडापखाला, हैजा, आदिको जोखिम बढ्ने हुँदा सतर्कता अपनाउनुपर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीको भनाइ छ।

उनले भने‚ ‘प्राकृतिक विपत्तिको यो समयमा खानेपानीका मुहान क्षति पुर्‍याई खानेपानी प्रदूषित भई झाडापखाला, हैजा, तथा डेंगु, मलेरिया आदि पनि बढ्न सक्ने हुनाले सतर्कता अपनाउनु आवश्यक छ। त्यसैले खानेपानी तथा आफू बस्ने वरपरको सरसफाइमा विशेष सतर्कता अपनाउनु पर्छ।’

बाढीपहिरोबाट विस्थापित भएकाहरूको सामूहिक बसाइँ हुने भएकाले खाना, शुद्ध खानेपानी, उचित शौचजस्ता अत्यावश्यक समस्या पर्छ। यस्तै, लामखुट्टे, मुसा र सर्पका कारण पनि रोगको जोखिम बढ्ने हुँदा सतर्कता अपनाउनुपर्ने सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनको भनाइ छ।

त्यसैले प्राकृतिक प्रकोपपछि विभिन्न रोगले महामारीकै रूप लिने गर्छ। विशेषगरी यो समयमा​हेपाटाइटिस् ‘इ’ र ‘ए’ को जोखिम हुन्छ भने झाडापखाला, हैजा ज्वरो तथा टाइफाइड र ल्याप्रोसिस्को (छालाको एलर्जी) समस्या बढ्ने जोखिम तत्कालीन रूपमा देखिने हुन्छ। केही समयपछि मलेरिया, स्क्रब टाइफस, डेंगु, कालाजार, चिकनगुनियाँ जस्ता किटजन्य संक्रमण देखिने जोखिम हुन्छ।

यस्ता उपाय अपाउन सके राम्रो

वर्षाको समयमा पानी धेरै दूषित हुने गर्छ। बाढीपहिरोले गर्दा पानीको मुहान फोहोर हुन्छन्। जसले पानी दूषित भई झाडापखाला, आउँ जस्ता पानीजन्य संक्रमण हुने गर्छ।

त्यसैले यस्तो वेला सकेसम्म उमालेको पानी मात्रै खानुपर्छ। यो सम्भव नभएमा पीयूष वा पानी शुद्धीकरण गरेर खानुपर्छ। अशुद्ध पानीका कारण धेरै फैलिने रोग झाडापखाला हो। हेपाटाइटिइटिस ‘ए’ र ‘इ’ को जोखिम पनि बढ्न सक्छ। ज्वरो आउने, बान्ता हुने, खान मन नलाग्ने आदि हेपाटाइटिस ‘ए’ र ‘ई’का लक्षण हुन्। यो कहिलेकाहीँ जन्डिसकै तहसम्म पनि पुग्न सक्छ।

बाढीबाट आएको पानी धेरै फोहर हुन्छ। यस्तो पानीमा भिज्दा छालाको एलर्जी हुनुका साथै छालासम्बन्धी अन्य संक्रमण हुन्छ। त्यसैले अत्यावश्यक कामबाहेक पानीमा जानुहुँदैन। जानै परेमा शरीर ढाक्ने लुगा लगाएर जानुपर्छ।

बाढीपछि खाल्टाखुल्टीमा पानी जम्ने भएकाले डेंगु, कालाजार, मलेरिया, चिकनगुनियाँ जस्ता रोग लाग्छन्। त्यसैले झुल टाँगेर सुत्नुपर्छ।

यस्तै बाढीका बेला मुसा मर्छन्। मरेका मुसामा रहेको ब्याक्टेरियाका कारण लेप्टोस्पाइरोसिस भन्ने रोग लाग्छ। मुसा मरेपछि यी ब्याक्टेरिया पानीमा मिसिन्छ र घाउ वा अन्य माध्यमबाट मानव शरीरमा प्रवेश गरेर लेप्टोस्पाइरोसिस रोग लाग्ने हुँदा विशेष सावधानी अपनाउनुपर्ने डा. पुनको भनाइ छ।

यो समयमा स्वच्छ र स्वस्थ खानेकुरा खाने गर्नुपर्छ। सकेसम्म यो सयमा काँचो खानेकुरा खानुहुँदैन। राम्रोसँग पकाएको खानेकुरा मात्र खानुपर्छ। अस्वस्थकर खाने कुराले फुड पोइजनिङ हुने भएकाले खानेकुरामा विशेष ध्यान पुर्‍याउनुपर्छ। खुला ठाउँमा दिसा गर्नुहुँदैन। टाउको दुख्ने, पेट दुख्ने, बान्ता हुने लगायतका लक्षण देखिए तुरुन्तै नजिकैको स्वास्थ्य संस्थामा जानु राम्रो हुने सरुवा रोग विशेषज्ञ डा. पुनको भनाइ छ।

मुख्य समाचार समाचार समाज स्वास्थ्य