हेटौंडा जेसीजको सप्ताहव्यापी कार्यक्रम समापन

हेटौंडा जेसीजले विभिन्न कार्यक्रम आयोजना गरी ‘जेसीज सप्ताह २०२४’ मनाएको छ । कार्तिक ६ गतेदेखि ९ गतेसम्म ७ वटा कार्यक्रम आयोजना गरेर जेसीजले जेसीज सप्ताह मनाएको हो ।
शुक्रबार साँझ रिगल हेटौंडा रिसोर्टमा समापन तथा पुरस्कार वितरण समारोह आयोजना गरिएको थियो ।

सो अवसरमा प्रमुख अतिथि एवम् बागमती प्रदेश सरकारका मुख्यमन्त्री बहादुर सिंह लामाले प्रदेश सरकार सामाजिक संघ संस्थाहरुसँग हातेमालो गर्दै अगाडि बढ्न तयार रहेको प्रतिवद्धता जनाउँदै जेसीजले समाजमा पुर्याउँदै आएको योगदानको चर्चा गरे ।

उनले युवाहरु जेसीजमार्फत् एकतावद्ध भएर नेतृत्व तथा व्यक्तित्व विकास समेत गर्दै सामाजिक सेवामा लागेकोमा खुसी व्यक्त गरे । जेसीजको कर्मबाट सिंगो समाजले प्रेरणा प्राप्त गर्न सक्ने भन्दै उनले अझै क्रियाशील भएर सामाजिक क्षेत्रमा लाग्न अनुरोध गरे ।

हेटौंडा जेसीज वर्ष सन् २०२४ का अध्यक्ष विकेशलाल श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा जेसीजका छिमेकी शाखाका अध्यक्षहरु तथा विभिन्न संघ संस्थाका प्रतिनिधिहरुले शुभकामना दिँदै आपसमा हातेमालो गर्दै अगाडि बढ्नुपर्नेमा जोड दिए ।

जेसीजले सप्ताहव्यापी कार्यक्रम अन्तरगत पहिलो कार्यक्रमको रुपमा हेटौंडाको सिचाईं टोलदेखि मनकामना मन्दिरसम्म साइकल रेस गरेको थियो । त्यस्तै दोस्रो कार्यक्रमको रुपमा जेसीजको सचिवालयमा वतृत्वकला प्रतियोगिता आयोजना गरिएको थियो । त्यस्तै हेटौंडा १५ चिप्लेटीस्थित सामुदायिक विद्यालयमा शैक्षिक सामग्री वितरण गरिएको थियो भने चौथो कार्यक्रमको रुपमा हुप्रचौरमा रक्तदान कार्यक्रम आयोजना गरिएको थियो ।

त्यसैगरी सितलमहलचोकमा स्लो मोटरबाइकल प्रतियोगिता आयोजना गरिएको थियो हेटौंडा ९ लामसुरेधापस्थित सिआन महिला पुनःस्थापना केन्द्रमा स्थानीय टोल विकास संस्था तथा आमा समूहका प्रतिनिधिहरुलाई लागूऔषध दुव्र्यशनी न्यूनिकरणको विषयमा अभिमुखीकरण गरिएको मुल कार्यक्रम संयोजक विवेक आनन्द न्यौपानेले बताए ।

समापन समारोहमा विभिन्न प्रतियोगिताका विजेताहरुलाई पुरस्कार वितरण गरिएको थियो भने अतिथि एवम् विभिन्न क्षेत्रबाट जेसीजलाई सहयोग पुर्याउने व्यक्ति तथा संस्थाहरुलाई मायाको चिनो प्रदान गरिएको थियो ।

संजयकुमार न्यौपानेले संयोजन गरेको कार्यक्रमलाई महासचिव पंकजदार बानियाँले सहजिकरण गरेका हुन् । सो अवसरमा जेसीजको विभिन्न जिम्मेवारीमा रहेकाहरुको बाक्लो उपस्थिति रहेको थियो ।

मुख्य समाचार समाचार समाज