मकवानपुरको लेन डाँडामा नेपालकै सबैभन्दा अग्लो फास्ट ट्रयाक पुल निर्माण हुदैँ

मक्रान्चुली/ नेपालकै सर्वाधिक महत्वपूर्ण पूर्वाधार परियोजनाको रुपमा हेरिएको काठमाडौं–तराई–मधेश द्रुतमार्ग (फास्ट ट्रयाक) अन्तरगत मकवानपुरको लेन डाँडास्थित हाल ब्रिज (पुल) निर्माणधिन अवस्थामा छ ।

मकवानपुरको मकवानपुगढी गाउँपालिका र बकैया गाउँपालिकामा पर्ने उक्त स्थानमा २७० मिटर लामो र नेपालकै सबैभन्दा अग्लो भुकम्प प्रतिरोधी पुल बन्दै गरेको लेन डांडा बेस क्याम्पका कार्यालय प्रमुख सेनानी निरोज गौतमले जानकारी दिए । प्रमुख सेनानी गौतमले केही दिनअघि नेपाली सेनाले आयोजनाको गरेको रक्षा संवाददाता तालिम अन्तरगत अवलोकनमा पुगेका सञ्चारकर्मीसँग कुराकानी गर्दै यस्तो जानकारी गराएका हुन्  जितपुल खोलामा निर्माण भइरहेको उक्त पुल सम्पन्न हुँदा करिब ८१ मिटरसम्म उचाईको अग्लो हुने प्रमुख सेनानी गैतामले बताए । सो पुल प्रि क्यान्टिलिभर मेथडबाट निर्माण गरिरहेको उनले बताए । उनले भने, ‘उक्त पुल अहिलेसम्मकै सबैभन्दा अग्लो र लामो भएको कारण तलबाट फर्मा लगाउन सम्भव नभएको र लङचिङ गर्न पनि अप्ठ्यारो हुने भएकोले प्रि क्यान्टिलिभर मेथरबाट निर्माण गरिरहेका छौं । यो मेथड कम मात्रामा प्रयोगमा आएको नयाँ टेक्नोलोजी हो ।’

उनका अनुसार, द्रुतमार्गको प्याकेज नं. ३ अन्तर्गत पर्ने सुरुङ मार्ग (टनेल) को काठमाडौंबाट निजगढतर्फ जाने १ हजार ६३३ मिटर र निजगढबाट काठमाडौंतर्फ आउने १ हजार ६१२ मिटर लामो सुरुङ मार्ग क्रमशः असार र जेठमा छिचोलिसकेको थियो । ती टनेलको सेकेण्डरी कामहरु भइरहेको छ ।राष्ट्रिय गौरबको आयोजनामा रहेको उक्त द्रुतमार्गको काम नेपाली सेनाको व्यवस्थापनामा भइरहेको हो । ७१ दशमलव ५ किलोटिर लामो यस मार्गमा ८९ वटा ठूला पुलहरु र ६ वटा सुरुङहरुको निर्माण गर्ने योजना छ ।

तीमध्ये हाल ३ वटा सुरुङ र ५ वटा पुलको निर्माणकार्य सम्पन्न भइसकेको छ भने अन्यको निर्माण कार्य भइरहेको छ । द्रुतमार्गको भौतिक प्रगति (काम) चालु आर्थिक वर्ष २०८१–०८२ को त्रैमासिक अर्थात् असोज मसान्तसम्म ३६ दशमलव ४२ प्रतिशत मात्रै भएको छ । द्रुतमार्ग सडक आयोजनाको मोबिलाइजेसनसहित वित्तीय प्रगति भने ३८ दशमलव ५५ प्रतिशत छ । यो सात वर्षको अवधिमा भएको नेपाली सेनाले सार्वजनिक गरेको प्रगति प्रतिवेदनमा उल्लेख छ ।द्रुतमार्ग अन्तरगत ६ वटा सुरुङ्ग मार्गको कुल लम्बाइ १० दशमलव ३०९ किलोमिटर रहेको छ । नेपाल सरकारले फास्ट ट्रयाक निर्माणको व्यवस्थाको चुनौतिपूर्ण कार्य वि.सं २०७४ साल बैशाख ४ गतेबाट नेपाली सेनालाई सुम्पिएको थियो ।

नेपाल सरकारबाट निर्माण व्यवस्थाको जिम्मेवारी पाए लगतै नेपाली सेनाले वि.सं. २०७४ जेठ १४ गतेबाट निर्माणकार्य सुरु गरेको थियो । उक्त निर्माण कार्य तत्कालिन प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले बारा जिल्लाको निजगढमा शिलान्यास गरेका थिए ।

मुख्य समाचार समाचार समाज स्थानीय