अण्डाको मूल्य बढेपछि किसानलाई राहत

भदौ पहिलो हप्तादेखि अण्डाको मूल्य घटेपछि निराश बनेका किसान मूल्य बढ्न थालेसँगै उत्साहित बनेका छन् । किसानले लागत मूल्य नजिक बिक्री गर्न पाएका हुन् ।

नेपाल लेयर्स कुखुरा पालक सङ्घका अध्यक्ष विनोद पोखरेलकाअनुसार आजदेखि लागू हुने गरी चितवनलाई आधार मानेर ठूलो अण्डाको समर्थन फार्म मूल्य प्रतिक्रेट अर्थात् ३० वटाको पाँच सय र मध्यम चार सय ८५ रुपैयाँ कायम गरिएको छ । विगत दुई हप्तायता क्रमशः मूल्य बढ्न थालेको अध्यक्ष पोखरेलले बताउनुभयो ।

लागत मूल्य प्रतिगोटा १६ रुपैयाँ ५६ पैसा रहेको छ । पोल्ट्री व्यवसायी मञ्चका निवर्तमान अध्यक्ष राजेन्द्र लामिछानेले उत्पादन घटेको र माग बढेपछि पूर्ववत् अवस्थामा अण्डाको मूल्य आएको बताउनुभयो ।

भदौ पहिलो हप्ता दैनिक ३० लाख हाराहारी अण्डा उत्पादन हुने गरेकामा यो सङ्ख्या घटेर २२ लाख हाराहारीमा झरेको छ । उहाँको भनाइमा नोक्सान थपिँदै गएपछि धेरै किसान विस्थापित भएका छन् ।

उद्योग सङ्घ चितवनका निवर्तमान अध्यक्षसमेत रहनुभएका कुखुरापालक किसान त्रिलोचन कँडेल किसानले पालेका अण्डा उत्पादन हुने कुखुराहरू बिक्री भएको र नयाँ चल्ला हुर्किन नसक्दा उत्पादन घटेको बताउनुहुन्छ । कँडेलले ७५ प्रतिशत किसान विस्थापित भइसकेको उल्लेख गर्दै केही किसान फेरि व्यवसायमा फर्किएका बताउनुभयो ।

लागत मूल्यभन्दा कममा अण्डा बिक्री गर्नुपर्ने अवस्था आएमा बाँकी किसान पनि विस्थापित हुने उहाँको भनाइ छ । अण्डाको मूल्य बढ्दै गएपछि किसानमा केही आशा पलाएको उहाँले बताउनुभयो ।

मुख्य समाचार समाचार समाज