आज काग तिहार मनाइँदै

कार्तिक कृष्ण त्रयोदशीका दिनमा मनाइने काग तिहार पर्व आज परेको छ । यमराजको दूतका रुपमा कागलाई मीठो–मीठो चीजबीज खान दिएर आज काग तिहार मनाइँदैछ ।

यमराजले लोकको खबर कागका माध्यमबाट थाहा पाउने भएकाले कागलाई यमदूतका रुपमा मान्ने प्रचलन छ । कागले यमराजसमक्ष राम्रो खबर लगिदियोस् भनेर आजका दिन कागलाई पूजा आराधनासहित मीठो–मीठो खान दिई खुसी पार्ने गरिन्छ ।

लोक व्यवहारमा काग घरमा आई कराएमा शुभ बोल, शुभ बोल भनी भन्ने प्रचलन समेत रहेको छ । काग घर वरपर आई कराएमा उसले केही खबर लिएर आएको विश्वास गरिन्छ ।

यस वर्ष तिथिको घटबढका कारण सायंकालमा कार्तिक कृष्ण त्रयोदशी परेका दिन सुरु हुने यमपञ्चक मंगलबार बेलुकीदेखि नै सुरु भएको हो ।

यसैगरी, लक्ष्मी स्थिर राख्नका लागि गरगहना एवम् तामाका भाँडाकुँडा किन्ने धनतेरस पर्व पनि मंगलबार नै मनाइएको छ । यस दिन गरगहना तथा भाँडाकुँडा किनेमा लक्ष्मी घरमै स्थिर भई बस्ने धार्मिक मान्यता छ ।

 

मुख्य समाचार मुख्य समाचार (flash news) समाचार समाज