यस वर्ष लक्ष्मीपूजाको दिन विद्युतको माग १६०२ मेगावाट

यस वर्षको  लक्ष्मीपूजाको दिन देशभित्रको विद्युत् उच्च माग (पिक डिमाण्ड) १६०२ मेगावाट रेकर्ड गरिएको छ । लक्ष्मीपूजाको दिन बिहीबार साँझ ६:२५ बजे पिक डिमाण्ड १६०२ मेगावाट रेकर्ड गरिएको नेपाल विद्युत प्राधिकरणले जनाएको छ।

गत वर्षको २६ कात्तिकमा लक्ष्मीपूजाको दिनको विद्युत् पिक डिमाण्ड १४३८ मेगावाट रेकर्ड गरिएको थियो। यो वर्ष अघिल्लो वर्ष भन्दा १६४ मेगावाट बढी माग भएको हो।  तिहारमा उद्योग, कलकारखानाहरू बन्द हुने भएकाले रेकर्ड गरिएको पिक डिमाण्ड औद्योगिक ग्राहक बाहेकको हो । लक्ष्मीपूजाको दिनको पिकको विद्युत् मागलाई देशभित्रैका विद्युत्गृहहरुबाट उत्पादन गरी आपूर्ति गरिएको प्राधिकरणले जनाएको छ ।देशभित्रको विद्युत् मागलाई पूरा गरी अतिरिक्त भएको २५३ मेगावाट विद्युत् पिक समयमा भारततर्फ निर्यात गरिएको छ । गत वर्ष लक्ष्मीपूजा पिक समयमा ५१७ मेगावाट मात्र निर्यात गरिएको थियो ।यस वर्ष असोज १२ को बाढी पहिरोले ट ४५६ मेगावाटको माथिल्लो तामाकोशी, काबेली करिडोर प्रसारण लाइनमा जोडिएको करिब २०० मेगावाट र अन्य केही साना जलविद्युत आयोजनामा क्षती पुग्दा विद्युत् उत्पादन बन्द भएको छ।लक्ष्मीपूजाको दिन निर्यातसहित प्रणालीमा समग्र विद्युत्को माग १८५५ मेगावाट रेकर्ड गरिएको छ ।

मुख्य समाचार समाचार समाज