आज फाल्गुनन्द जयन्ती मनाइँदै

किराँत धर्मावलम्बीका महागुरु फाल्गुनन्दको जन्मजयन्ती आज मनाइँदैछ । फाल्गुनन्दको एक सय ४० औँ जन्मजयन्ती आज विविध कार्यक्रम आयोजना गरी मनाउने भएको हो ।

फाल्गुनन्द विसं १९४२ कात्तिक २५ गते इलाममा सामान्य परिवारमा जन्मिएका थिए । किराँत, भाषा, लिपि, संस्कार, संस्कृति एवं समाज सुधारमा उनको महत्त्वपूर्ण योगदान रहेको छ ।

समाज सुधारका लागि फाल्गुनन्दले नीति निर्माणसमेत गरेका थिए । जसलाई ‘सत्य धर्म मुचुल्का’ भनिन्छ । उक्त नीति १९८८ साल वैशाख २४ गते जारी गरिएको थियो ।

छोरीको विवाह गर्दा सोत–रीत (पैसा लिन नहुने), भगवानको पूजा गर्दा जीवहत्या गर्न नहुने, मद्यपान तथा मासु सेवन नगर्ने, मृत्यु संस्कार तीन दिनमा सम्पन्न गर्नेजस्ता समाज सुधारका महत्त्वपूर्ण सामाजिक एवं सांस्कृतिक पक्ष त्यसमा समेटिएका छन् ।

महागुरु फाल्गुनन्द आफ्नो जीवनको अन्तिम अवस्थासम्म भाषा, लिपि, संस्कार संस्कृति, सम्मान शिक्षा, समाज सुधारका निम्ति किराँत धर्मको उत्थान तथा संरक्षणको निमित्त लागि परेका थिए । फाल्गुनन्दको २००५ सालमा निधन भएको थियो ।

फाल्गुनन्द जयन्तीका अवसरमा कोशी प्रदेशमा आज सार्वजनिक विदा दिइएको छ ।

मुख्य समाचार राजनीति समाचार समाज