डीडीसीसँग प्रस्ताव मागेर हेटौंडा पाउडर प्लान्ट सञ्चालन ‘मोडालिटी’ टुंग्याउन अध्ययन समिति

दुई वर्षदेखि अलपत्र हेटौंडा उपमहानगरपालिका–१० स्थित धुलो दूध कारखाना (पाउडर प्लान्ट) सञ्चालनमा ल्याउन प्रदेशको कृषि तथा पशुपन्छी विकास मन्त्रालयलाई टाउको दुखाइ बनिरहेको छ ।

उद्योग तयार भएर पनि दुग्ध विकास संस्थान (डीडीसी) लाई डेढ वर्षदेखि परीक्षण मात्रै गराइराखिएको धुलो दूध कारखानाको जिम्मा कसलाई दिने भन्नेमा मन्त्रालयले ठोस निर्णय लिन सकेको छैन । यसअघि डीडीसीलाई सञ्चालन प्रस्ताव मागेको कृषि मन्त्रालयले फेरि ‘अन्तिम पटक’ भन्दै अध्ययन समिति गठन गरेको छ ।

डीडीसीले सञ्चालन कार्यविधि (मोडालिटी) गत असोजमै मन्त्रालयलाई बुझाइसकेको छ । डीडीसीको प्रस्ताव हाल थाती राखेर मन्त्रालयले २७ कात्तिकमा प्रदेश नीति तथा योजना आयोगका कृषि क्षेत्र हेर्ने सदस्य दीपेन्द्र श्रेष्ठको संयोजकत्वमा दुग्ध पाउडर प्लान्ट सञ्चालन मोडालिटी अध्ययन समिति–२०८१ गठन गरेको हो ।

अध्ययन समितिले दिएको सुझाव अनुसार नै धुलो दूध कारखाना सञ्चालन जिम्मेवारी कसलाई दिने भन्ने टुंगो लाग्ने कृषिमन्त्री प्रकाश श्रेष्ठले बताए । समितिमा ६ सदस्य छन् ।

कृषि मन्त्रालयले सदस्यको नाम भने गोप्य राखेको छ । कारखाना हेर्ने मन्त्रालयको पशुपन्छी विकास महाशाखाले नाम उपलब्ध गराउन चाहेन ।

नवगठित समितिलाई १५ दिनभित्र अध्ययन प्रतिवेदन पेस गर्न समय दिइएको मन्त्रालयका सचिव विनोद भट्टराईले जानकारी दिए । अध्ययन समितिले दिएको सुझावका आधारमा दूध कारखानाको सञ्चालन मोडालिटी टुंगो लगाइने उनले बताए ।

प्रदेशको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले अलपत्र परेको पाउडर प्लान्ट चलाउन यसअघि डीडीसीलाई जिम्मा दिने उद्देश्यले सञ्चालन कार्यविधि सहित प्रस्ताव माग गरेको थियो ।

मन्त्री श्रेष्ठको अध्यक्षतामा डीडीसीका निमित्त महाप्रबन्धक सूर्य पौडेल सहित गत २६ भदौमा मन्त्रालयमा बसेको कारखाना सञ्चालन सम्बन्धी बैठकले डीडीसीलाई सञ्चालन प्रस्ताव पेस गर्ने निर्णय गरेको थियो ।

डीडीसीले असोज दोस्रो साता अर्थात् दशैंअघि मन्त्रालयलाई प्लान्ट सञ्चालन मोडालिटी सहित प्रस्ताव पेस गरिसकेको छ । डीडीसीका निमित्त महाप्रबन्धक पौडेलले मन्त्रालयलाई प्लान्ट सञ्चालनको विस्तृत विवरणसहित प्रस्ताव पेस गरिएको जानकारी दिए । प्रस्तावमा प्लान्ट सञ्चालनबाट प्राप्त आम्दानी प्रदेश सरकार र डीडीसीबीच बाँडफाँट हुने उल्लेख गरिएको पौडेलले बताए ।

प्लान्टको व्यवस्थापकीय प्राविधिक जिम्मेवारी, दूध लगायत कच्चापदार्थको सहज आपूर्ति, बजारीकरण अवस्थाका विषय प्रस्तावमा समेटिएको उनको भनाइ छ ।

डीडीसीले प्लान्ट सञ्चालनका लागि जिल्लास्थित जिल्ला दुग्ध उत्पादक सहकारी संघलाई पनि जोड्ने प्रस्ताव गरेको छ । जिल्लामा उत्पादित दूध सहकारी संघमार्फत एकद्वार प्रणालीबाट संकलन र बिक्री वितरण हुँदै आएको छ ।

‘संघबाट दूध खरिद गरेर प्लान्ट सञ्चालन योजना छ । यसो गर्दा हामीलाई दूधको कहिल्यै अभाव हुँदैन । जनकपुरदेखिको दूध हेटौंडा ल्याउन पनि सकिने विषय उल्लेख गरेका छौं,’ उनले भने ।

तराईका जिल्लामा उत्पादित दूध विराटनगरस्थित पाउडर लान्ट पुर्‍याउँदा खर्चिलो भएको पौडेलको भनाइ छ ।

कृषि मन्त्रालयले विस्तृत कार्ययोजना कार्यविधिविना हचुवामै प्लान्ट निर्माण गरेको थियो । कुन मोडालिटीमा उद्योग सञ्चालन गर्ने भन्नेमा टुंगो नलाग्दा उद्योग परीक्षणकालमै सीमित बनिरहेको छ ।

प्लान्ट चलाउने दीर्घकालीन योजना नहुँदा उद्योगको मेसिनरी सामग्रीको जोखिम हुन नदिन मन्त्रालयले कारखानाको अस्थायी सञ्चालन डीडीसीलाई दिँदै आएको छ ।

आवश्यकता अनुसार डीडीसीले कारखानालाई परीक्षणका रूपमा सञ्चालन गरिरहेको छ । डीडीसीले पाउडर उत्पादन गरिरहेको पौडेलले बताए ।

प्रदेश दुग्ध विकास बोर्डसँग १४ मंसिर र २२ माघ २०८० मा भएको सम्झौता अनुसार डीडीसीले प्लान्टको विगत डेढ वर्षदेखि परीक्षणका रूपमा सञ्चालन गर्दै आएको हो ।

हेटौंडास्थित पशु आहार उत्पादन उद्योगको साढे १ बिघा क्षेत्रफलमा बागमती प्रदेश सरकारले ४७ करोड ३३ लाख २३ हजार ५ सय ८१ रुपैयाँ लागतमा धुलो दूध कारखाना (पाउडर प्लान्ट) स्थापना गरेको थियो ।

१६ पुस २०७७ मा तत्कालीन मुख्यमन्त्री डोरमणि पौडेलले शिलान्यास गरेको कारखाना निर्माण कार्य एक वर्षभित्र सक्ने गरी इजी इन्फ्रा कम्पनीले ठेक्का सम्झौता गरेको थियो ।

कम्पनीसँग १ पुस २०७७ मा ४१ करोड २२ लाख ७१ हजार रुपैयाँमा ठेक्का सम्झौता भएको थियो । तीन पटक म्याद थप गरी कारखाना निर्माण भएकाले यसको लागत ६ करोड रुपैयाँ पुगेको मन्त्रालयका योजना महाशाखा प्रमुख तथा प्रवक्ता सुजन कँडेलले बताए ।

निर्माणस्थलको संरचना हटाउन भएको ढिलाइ, कोरोना महामारी लगायत कारण तीन वर्षमा मात्रै संरचना तयार भएको मन्त्रालयका पशुपन्छी विकास महाशाखा अधिकृत आभाष कोइरालाले बताए ।

कारखाना दैनिक ६० हजार लिटर दूध खपत गर्ने क्षमताको छ । नियमित सञ्चालनमा आए पाउडर प्लान्टबाट प्रतिदिन ५ टन र प्रतिवर्ष १ हजार ५ सय टन धुलो दूध उत्पादन गर्न सकिने मन्त्रालयले जनाएको छ । किसानले उत्पादन गरेको दूधबाट दैनिक ५ टन पाउडर दूध उत्पादन र प्याकिङ गर्ने लक्ष्य कारखानाको छ ।

बागमती प्रदेशमा वार्षिक ४ लाख ५५ हजार १ सय ४२ टन दूध उत्पादन भइरहेको मन्त्रालयको अनुमान छ । प्रदेशका चितवन, काभ्रे, सिन्धुली, धादिङ र मकवानपुरमा धेरै दूध उत्पादन हुन्छ । प्रदेशका अधिकांश किसान गाईभैंसी पालनबाट आत्मनिर्भर छन् । चितवन, काभ्रे र मकवानपुरमा व्यावसायिक गाईभैंसी फार्म सञ्चालन गर्ने किसान छन् ।

धुलो दूध कारखाना निर्माण भएयता बागमती प्रदेशमा पाँच जना कृषिमन्त्री बनिसके । प्रदेशको पहिलो कृषिमन्त्री दावादोर्जे लामाकै बेला कारखाना स्थापनाको निर्णय भएको थियो र उनले नै कार्यान्वयनमा लगेका थिए ।

त्यसपछि एमालेका चन्द्र लामा दुई महिना, एकीकृत समाजवादीका बसुन्धरा हुमागाईं डेढ वर्ष, एकीकृत समाजवादीका डा. राजेन्द्रमान श्रेष्ठ र एमालेका प्रकाश श्रेष्ठ मन्त्री बने । विगतका मन्त्रीहरूले जस्तै अहिलेका मन्त्री श्रेष्ठले पनि कारखाना सञ्चालनका लागि तदारुकता देखाएका छन् । यद्यपि, कारखाना सञ्चालन हुने/नहुने अन्योल नै छ । अनलाइन खवरबाट

मुख्य समाचार समाचार समाज