नक्कली अपाङ्गताको सिफारिस लिएर सहयोग माग्दै हिँड्ने पक्राउ

बोल्न नसक्ने र कानसमेत नसुन्ने जनाउँदै नक्कली अपाङ्गताको सिफारिस लिएर सहयोग माग्दै हिँड्ने दुई जना पक्राउ परेका छन् ।

शहीद लखन गाउँपालिका गाउँकार्यपालिका गोरखाले दीपेन्द्रकुमार शर्मा र सन्तोषकुमार शर्मालाई आर्थिक सहयोग गरी दिन भनी उपलब्ध गराएको नक्कली पत्रका आधारमा ऐसेलुखर्क गाउँपालिकाका स्थानीयवासीसँग चन्दा माग्दै हिँड्ने दुई जनालाई सोमबार पक्राउ गरेको प्रहरीले जनाएको छ ।

 

पक्राउ पर्नेहरुमा बाराको जितपुर–सिमरा उपमहानगरपालिका–५, गढीमाईका १९ वर्षीय अजयराम चमार र जितेन्दरराम चमार रहेका छन् । उनीहरुलाई इलाका प्रहरी कार्यालय ऐसेलुखर्कले पक्राउ गरेको हो ।

प्रहरीका अनुसार, शहीद लखन गाउँपालिकामा जम्मा नौवटा मात्रै वडा छ । उनीहरुले प्रयोग गर्दै आएको आर्थिक सहयोगको पत्रमा ११ नं वडा लेखिएको भेटिइएको हो ।

शहीद लखन गाउँपालिका वडा नं ११ ले आर्थिक सहयोगका लागि भनेर दिएको पत्रमा वडाध्यक्षले मंसिर १० गते हस्ताक्षर गरेर सिफारिस दिएको देखिन्छ । तर, सिफारिसपत्रमा हस्ताक्षर गर्ने वडाध्यक्षको नाम भने उल्लेख गरिएको छैन ।

पक्राउ परेका दुवै जनाविरुद्ध अवैध चन्दा ऐनअन्तर्गतको कसुरमा खोटाङ जिल्ला अदालतबाट तीन दिनको म्याद थप गरेर अनुसन्धान प्रकृया अगाडि बढाएको प्रहरीले जनाएको छ ।

समाचार समाज