उपनिर्वाचनमा पहिलो भएका रहेछौं, अर्कै पार्टीका नेताले तथ्यांक देखाएपछि छक्कै परें : प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्थानीय तहको उपनिर्वाचनमा मत र परिणामको हिसाबले माओवादी पहिलो पार्टी बनेको दाबी गरेका छन्

राष्ट्रिय कर्मचारी महासंघको स्थापना दिवसलाई सम्बोधन गर्दै माओवादीले दोस्रो भयो भनेर गलत प्रचार गरिरहेको भन्दै अर्को पार्टीको नेताहरुले आफूलाई तथ्यांकसहित देखाएपछि छक्क परेको बताए ।

उनले भने, ‘पालिकातिरको जोड्दा त हामी सिधै एक नम्बर भइएको रहेछ । सबैतिरको जोड्दा पनि हामी एक नम्बर नै भइएको रहेछ । तर, हामीलाई एक नम्बर भन्न बल आएको रहेनछ । हाम्रो आत्मविश्वास एक नम्बर भन्दा बढी नै भनिएछ कि भन्या जस्तो । जबकी हामी एक नम्बर भइएको छ ।’

उनले माओवादी एकताबद्ध भएर लाग्यो भने माओवादी सकियो भन्नेहरुलाई जवाफ मिल्ने बताए ।

उनले भने, ‘म प्रधानमन्त्रीबाट हटेर आउँदैगर्दा माओवादी अब सकियो भन्ने भाष्य बनाउन खोजियो । माओवादीको नेतृत्व सिद्धियो भनेर फेरि एकचोटी विभाजन गरेर धुलोपिठो बनाउने षड्यन्त्र ठूलै थियो। माओवादीलाई विभाजित गर्ने र प्रचण्डलाई भाग्नुपर्ने बनाउने, कतिपयले मलाई सुझाव पनि दिए सन्यास लिए हुन्छ भनेर पनि । तर, मैले नयाँ अठोट लिएर समाजवादको आधार निर्माण गर्ने संकल्प गरेर हिँडेको छु ।’

सरकारबाट छाड्दैगर्दा पनि प्रतिक्रयावादीहरुलाई चुनौती दिएर भ्रष्टाचारविरुद्धको लडाईँ गर्छु भनेपछि जनतामा विश्वास बढेको उनको बुझाइ छ ।

उनले थपे, ‘अहिले यहाँसम्म आइपुग्दा परामर्श बैठकपछि एकताबद्ध भइसकेका छौं। हामीले गरेका राम्रा कामहरु र एमाले नेतृत्वले गरेका नराम्रा कामहरु दुईटा मिलाउँदा जनताको आशा र भरोसा बढेको छ । देश र जनताको हितमा प्रयास गर्ने माओवादी नै रहेछ भन्ने परेको छ । यो उपनिर्वाचनअघि नै परेको थियो । मैले पहिला पनि भनेका थिएँ, माओवादीमा ०६४ को झल्को आएको छ, तर, फर्किसकेको छैन । हामीलाई राम्रो अवसर पाएका छौं । जनताले राम्रोसँग माओवादीको पहलकदमीलाई बुझ्यो ।’

मुख्य समाचार राजनीति समाचार समाज