हेटौंडामा स्वाइन फिभर भाईरसका कारण १ सय बङ्गुरको ज्यान गयो

चालु आर्थिक वर्ष २०८१/८२ मा हेटौंडामा स्वाइन फिभर भाईरसका कारण १ सय बङ्गुरको ज्यान गएको छ ।

पशु सेवा कार्यालय हेटौंडाले विहिबार आयोजना गरेको रोगबारे जनचेतना तथा अन्तरक्रिया कार्यक्रममा रोगका कारण, उपचार र नियन्त्रण बारेमा छलफल गरिएको हो ।

चालु आर्थिक वर्षमा यस रोगका कारण हेटौंडा उपमहानगरपालिका वडा नम्बर–१ मा ९०, वडा नम्बर–१७ मा ७ र वडा नम्बर ११ मा ३ वटा बङ्गुरको ज्यान गएको कार्यालयका प्रमुख बज्रकिशोर ठाकुरले बताएका छन् ।

कुनै ठोस उपचार नभएको स्वाइन फिभर रोग लागेमा बङ्गुरको शरीरमा रगतको धब्बा देखिने, १०५ डिग्री फरेनहाइट भन्दा माथि उच्च ज्वरो आउने, रगतमासी देखिने, श्वास फेर्न गार्‍हो हुने, खाना नखाने र गर्भ तुहिने जस्ता लक्षणहरु देखापर्ने कार्यालयका पशु चिकित्सक विजय पौडेलले बताएका छन् ।

रोग नियन्त्रणका लागि पशु ढुवानी ओसारप्रसारमा रोक,खोर स्वच्छता र फोहोर व्यवस्थापनमा विशेष जोड, अनावश्यक रुपमा पशु सँगको सम्पर्कमा रोक जस्ता कुरामा विशेष ध्यान दिनुपर्ने चिकित्सक पौडेलले बताएका छन् ।
त्यस्तै मृत्यु भएका बङ्गुरलाई आवश्यक सर्तकताका साथ खाल्डो खनेर पुर्ने, पशु हेरचाहमा विशेष सुरक्षा सामग्रीको प्रयोग गर्ने जस्ता सावधानी अपनाउन उनले आग्रह गरेका छन् ।

कार्यक्रममा २० जना बङ्गरपालक कृषकहरुको सहभागिता रहेको थियो । सहभागि प्रत्येक किसानहरुलाई कार्य सुरक्षाका निम्ति फिनेल, चुना, माक्स, एप्रोन र ग्लोब्सको वितरण समेत गरिएको छ ।

ए.एस.एफ भाईरसका कारण देखापर्ने स्वाइन फिभररोग सन् २०२२ मा काठमाडौंको कागेश्वरी मनहरामा पहिलोपटक देखिएको थियो । नेपालमा हाल १ लाख ५८ हजार ८ सय वटा बङ्गुरहरु रहेको कार्यालयले उपलब्ध गराएको तथ्याकंमा उल्लेख छ ।

साथै रोगका कारण बङ्गरको मृत्यु भएमा पशु सेवा कार्यालय हेटौंडामा सम्पर्क गरी राहतस्वरुप अनुदान रकम लिन सकिने व्यवस्था रहेको छ ।

 

कृषि समाचार समाचार