हेटौंडामा सहकारीबाट उत्पादित सामग्रीको प्रदर्शनी मेला हुने

हेटौंडामा मकवानपुर जिल्लाभरमा रहेको सहकारीबाट उत्पादित सामग्रीको प्रदर्शनी तथा बिक्री मेला हुने भएको छ । मकवानपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेडको २० औं स्थापना दिवसको अवसरमा संघको आयोजनामा हेटौंडामा तीन दिने मेला हुने भएको हो ।

संघले आइतबार हेटौंडामा पत्रकार सम्मेलन गर्दै मेलाको सम्पूर्ण तयारी पूूरा भएको जानकारी दिएको छ । पत्रकार सम्मेलनमा संघकी अध्यक्ष कल्पना श्रेष्ठले यही पुस १६ गतेदेखि १८ गतेसम्म हेटौंडा–२ स्थित आफ्नै कार्यालयको नवनिर्मित भवनमा मेला आयोजना गर्न लागिएको जानकारी गराइन् ।

मेलामा बचत तथा ऋण मात्र नभई कृषि सहकारीका साथै बहुउद्देश्यीय, कृषि सहकारीहरुले समेत उत्पादन गरेका हस्तकला सामाग्री, खाद्य सामाग्री, मसला सामाग्री, डेरि परिकारहरुलाई मेलाका स्टलमा राखिने बताइन् । प्रदर्शनीमा करिब १० हजार जनाले अवलोकन गर्ने अनुमान गरिएको उनको भनाई छ । प्रदर्शनीमा करिब पाँच लाख रुपैयाँ खर्च हुने अनुमान गरेको र ४० वटा स्टल रहने उनले बताइन् ।

संघले करिब ३ करोड ५० लाख रुपैयाँ खर्चेर ३४ धुर क्षेत्रफलमा ३ हजार स्क्वायर फिटको भवन हेटौंडामा निर्माण गरेको छ । संघको स्थापना दिवसको सन्दर्भ पारेर यस भवनको समेत उद्घाटन गरिने व्यवस्थापक सुमित्राकुमारी वाइबाले बताइन् ।

भवन निर्माण गर्न प्रदेश सरकारबाट ३३ लाख, जिल्लाका ४ वटा पालिकाबाट अनुदान रकम, सदस्य सहकारीबाट करिब ९ लाख भन्दा बढी र संघको जगेडाकोष बजेट व्यवस्था गरिएको थियो ।

प्रदर्शनी मेलामा १६ गते सहकारी हाजिरीजवाफ प्रतियोगिता, १७ गते सहकारी निबन्ध प्रतियोगिता र सहकारीका सचिवबीच सहकारी वक्तृत्वकला प्रतियोगिता समेत आयोजना गरिने भएको छ ।

निबन्ध प्रतियोगिता कलेज स्तरीय रहने र एकका लागि सबै, सबैका लागि एक विषयवस्तु रहेको उनले बताईन् । वक्तृत्वकलामा भने सहकारीमा सुशासनः प्रविधि र एकीकरण भन्ने विषय रहेको जानकारी दिइन् । प्रतियोगितामा उत्कृष्ट चार जनालाई नगद सहित पुरस्कृत गरिने संघले जनाएको छ ।

 

समाचार समाज