आज सबै प्रदेशमा वर्षाको सम्भावना

मौसम पूर्वानुमान महाशाखाले आज देशको सबै प्रदेशमा वर्षाको सम्भावना रहेको जनाएको छ ।

महाशाखाले आज दिउसो कोशी, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको केही स्थानहरू तथा बागमती र मधेस प्रदेशको एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको हो ।

साथै सुदूरपश्चिम कर्णाली र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका धेरै स्थानहरू साथै बागमती प्रदेश र कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानहरूमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ ।

महाशाखाका अनुसार, बिहानको समयमा तराई तथा उपत्यका केही स्थानहरूमा हुस्सु तथा कुहिरोको सम्भावना रहेको छ । ती क्षेत्रमा दैनिक जनजीवन, स्वास्थ्य, यातायात तथा हवाई उड्डयनमा आंशिक असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउन महाशाखाले सबैलाई अनुरोध गरेको छ ।

समाचार समाज