सांसद बर्तौलाको पहलमा थाहाका किसानलाई मल वितरण गरिँदै

प्रतिनिधि सभाका सदस्य महेश कुमार बर्तौलाको पहलमा थाहा नगरपालिकाका किसानलाई चार हजार बोरा मल वितरण गर्ने भएको छ । आलु रोप्ने सिजन लागिसक्दा डीएपी, युरिया लगायतका रासायनिक मल अभाव भएपछि थाहा नगरपालिकाका किसानका समस्या समाधान गरिदिन सांसद बर्तौलाले बागमती प्रदेशका कृषि तथा पशुपन्छी बिकास मन्त्रालयलाई अनुरोध गरेका थिए ।

बुधवार नेकपा एमाले थाहा नगरका सचिव सुजन रायमाझी र सांसद बर्तौलाका तर्फबाट प्रतिनिधित्व गर्दै स्वकीय सचिव आशिष अस्लामीले कृषि तथा पशुपन्क्षी विकास मन्त्री प्रकाश श्रेष्ठलाई भेटेर मल उपलब्ध गराईदिन आग्रह गरेका थिए ।

भेटघाटमा मन्त्री श्रेष्ठले बिहिवार नै थाहाका किसानहरुका लागि मल उपलब्ध गराउने प्रतिवद्धता व्यक्त गरे । श्रेष्ठले किसानहरुका लागि दुई हजार डीएपी र दुई हजार युरिया गरी चार हजार बोरा रासायनिक मल वितरण गरिने जानकारी दिए । आलु रोप्न ड्याङ नै तयार भईसक्दा पनि किसानले मलको अभावमा आलु रोप्न सकेका छैनन् । अहिले निजी क्षेत्रका ब्यापारीसंग महङगो मुल्य तिरेर किसानहरुले आलु रोप्नुपरेको छ ।

मकवानपुरको थाहा नगरपालिका आलु उत्पादनको पकेट क्षेत्र समेत मानिन्छ । थाहा नगरका ९ हजार कृषक परिवार आलुखेतीमा आबद्ध छन् । हानगरको ७ सय हेक्टरमा आलुखेती हुँदा ७० हजार किलो आलुको बीउ रोप्ने गरेका छन् । यहाँका किसानले आलुबाट वार्षिक २ अर्ब रुपैयाँ आम्दानी गर्दै आएका छन् ।

राजनीति समाचार