हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले लगानी प्राधिकरण बनाउने घोषणा गरेका छन् । लगानीमैत्री वातावरण बनाउन प्रदेश सरकारले लगानी प्राधिकरण बनाउन लागेको उनको भनाई छ ।
मकवानपुर उद्योग वाणिज्य संघको ५८ औं वार्षिक साधारणसभालाई बुधबार सम्बोधन गर्नुहुँदै मुख्यमन्त्री लामाले औद्योगिक क्षेत्र फस्टाउन लगानीमैत्री वातावरण जरुरी भएको जिकिर गरे । सरकारले नियम, कानुन बनाउँदैमा मात्र लगानीमैत्री वातावरण नबन्ने उनले बताए । नियम, कानुनलाई कार्यान्वयन गर्ने पक्ष उत्तिकै जिम्मेवार हुनुपर्ने उनको धारणा थियो ।
मुख्यमन्त्री लामाले आधुनिक विधि, प्रविधिको सदुपयोग गरी उत्पादनमुलक उद्योगहरुलाई प्रोत्साहन गर्नुपर्ने बताए । उद्योगीहरुले पनि आफुहरुबीचको एकता र सहकार्यलाई जोड दिन समेत मुख्यमन्त्री लामाले आग्रह गरे ।
कार्यक्रममा नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले २२ वर्षदेखि मकवानपुरमा बन्द अवस्थामा रहेको रोपवेको ठाउँमा वैकल्पिक यातायातको पोडवे निर्माण गर्नुपर्ने बताए । प्रधानमन्त्रीले आफ्नो चीन भ्रमणको क्रममा पनि पोडवे स्थापनाको सम्भाव्यता अध्ययन र लगानीको लागि चिनिंया सरकारसंग छलफल अघि बढाएको पनि उनले बताए । प्रमुख सचेतक बर्तौलाले पोडवे निर्माण हुँदा मकवानपुरको उत्तरी क्षेत्रको पर्यटन व्यवसाय फस्टाउने समेत दाबी गरे ।
त्यसैगरी पूर्वाधार विकास समितिका सभापति दिपकबहादुर सिंहले कर्मचारीतन्त्रको कारण राजनीतिक नेतृत्वलाई जनताले नै विश्वास गर्न छाडेको बताए । सरकारले योजना बनाएर लगानी नै गरिसकेको हेटौंडाको मयुरधाप औद्योगिक क्षेत्रको प्रगति शुन्य भएको भन्दै उहाँले असन्तुष्टि व्यक्त गरे ।
वन सचिवको निर्णयको कारण आज सरकारले गौरवको योजना नै सुरु हुन नसक्ने स्थितिमा पुगेको उनको भनाई छ । सभापति सिंहले सरकारले गफ नभई काम गरेर देखाउनुपर्ने बताए । आफु ४० दिन उर्जा राज्यमन्त्री हुँदा हेटौंडा औद्योगिक क्षेत्रलाई लोडसेडिङ मुक्त गरेको समेत सभापति सिंहले दाबी गरे ।
संघका अध्यक्ष कृष्ण अग्रवालको सभाध्यक्षतामा भएको कार्यक्रममा प्रतिनिधिसभाका सांसद् राजेन्द्र केसी, विन्दावासिनी कसांकार, बागमती प्रदेशकी उद्योग, वाणिज्य, भुमि तथा प्रशासन मन्त्री शुकमाया तामाङ, प्रदेश सांसद् प्रेमबहादुर पुलामी, भारती पाठक लगायत उद्योग वाणिज्य संघका पूर्व अध्यक्षहरु, उद्योगी व्यवसायीहरुको उपस्थिति रहेको थियो ।