हेटौंडा । माघ महिनाको पहिलो दिन मनाइने माघे संक्रान्ति पर्व आज देशभर स्नान, जप, तप, ध्यान साधना, दान आदि गरी मनाइँदै छ ।
सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने भएकाले माघ १ गतेलाई मकर संक्रान्ति पनि भनिन्छ । माघे संक्रान्ति अर्थात् माघी पर्वको अवसरमा सरकारले आज देशभर सार्वजनिक विदा दिएको छ ।
माघ १ गतेदेखि उत्तरायण शुरु हुने भएकाले दिनभन्दा रात छोटा हुँदै जान्छन् । उत्तरायण शुरु हुने दिनको स्नान, जप, तप, ध्यान साधना, दान आदिलाई पुण्य दायक मानिन्छ । यसैले आजको दिन देवघाट, त्रिशूली, कालीगण्डकी, वाग्मती, इन्द्रावती, त्रिवेणी, रिडीलगायतका स्थानमा माघ स्नान गर्न भक्तजनको भीड लाग्छ । यी ठाउँमा आज विशेष मेलासमेत लाग्ने गर्छ ।
तराईवासीले माघ १ गतेलाई नहान अर्थात् नुहाउने पर्वका रुपमा मनाउँछन् । थारू समुदायले माघ १ लाई माघी पर्वको रूपमा विशेष रूपमा मनाउने गर्दछन् ।