१७ लाख ७० हजार एचपिभी खोप ल्याइयो

पाठेघरको मुखको क्यान्सरविरुद्ध प्रयोग हुने ह्युमन प्यापिलोमा भाइरस (एचपिभी) खोप अभियानका लागि १७ लाख ७० हजार भन्दा बढी खोप ल्याइएको छ । सरकारले माघ २२ देखि फागुन ६ गतेसम्म सञ्चालन गर्न लागेको एचपिभी खोप अभियानका लागि १७ लाख ७० हजार चार सय थप खोप ल्याइएको हो ।

स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखा अन्तर्गत खोप शाखाका प्रमुख डा. अभियान गौतमले अभियानमा १० देखि १४ वर्ष उमेर समूहका १६ लाख ८८ हजार ७६८ जना किशोरीले निःशुल्क खोप पाउने जानकारी दिए ।

‘ग्लोबल एलायन्स फर भ्याक्सिन एन्ड इमुनाइजेसन’ (गाभी) को सहयोगमा चिनियाँ कम्पनी इनोभ्याक्सले उत्पादन गरेको सिकोलिन ब्रान्डको उक्त खोपको पाँचौँ खेप दुई लाख ६६ हजार ६३० भाइल खोप आइतबार चीनबाट हङकङ हुँदै काठमाडौं ल्याइएको हो ।

खोप शाखा प्रमुख डा. गौतमले किशोरीलक्षित यो कार्यक्रम विद्यालय केन्द्रित हुने बताए । उनले १८ हजार नौ सय वटा विद्यालयलाई खोपका लागि केन्द्र तोकिएको जानकारी गराए ।

विद्यालयबाहेक आठ हजार दुई सय वटा केन्द्र तोकिएको पनि उनले बताए । नेपालमा विभिन्न अनुसन्धानले वार्षिक दुई हजार नेपाली महिलाको ज्यान पाठेघरको मुखको क्यान्सरबाट जाने गरेको पाइएको छ ।

समाचार स्वास्थ्य