सातै प्रदेशमा पुग्यो एचपिभी खोप

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले किशोरीलाई लगाइने पाठेघरको मुखको क्यान्सरविरुद्धको ‘ह्युमन पापिलोमा भाइरस’ (एचपिभी) खोप सातवटै प्रदेशमा पठाएको छ।

‘भ्याक्सिन र खोपका लागि ग्लोबल एलायन्स’ (गाभी)को सहयोगमा खोप नेपाल आएपछि सबै प्रदेशमा पठाइएको स्वास्थ्य सेवा विभागको आपूर्ति व्यवस्थापन महाशाखाका निर्देशक डा पवनजङ्ग रायमाझीले जानकारी दिए।

उनले सबै १७ लाख ७० हजार २० मात्रा खोप नेपाल आइसकेको बताए।

निर्देशक डा रायमाझीका अनुसार गाभीले किशोरीलाई पाठेघरको मुखको क्यान्सरबाट बचाउन एचपिभी खोप निःशुल्क उपलब्ध गराएको हो।

सङ्घीय सरकारले यही माघ २२ देखि फागुन ६ गतेसम्म देशभरि कक्षा ६ देखि १० सम्म र विद्यालय बाहिर रहेका १० देखि १४ वर्ष उमेर समूहका १६ लाख ८८ हजार नौ सय किशोरीलाई खोप लगाइने जनाएको छ।

कुन प्रदेशमा कति खोप

महाशाखाका निर्देशक डा रायमाझीले कोशी प्रदेशमा २ लाख ७५ हजार १८० मात्रा, मधेशमा ३ लाख ८० हजार ४६०, बागमती हेटौँडाका लागि १ लाख २५ हजार ८ सय, बागमती भक्तपुरका लागि २ लाख १८ हजार २८० मात्रा पठाइसकिएको जानकारी दिए।

गण्डकी प्रदेशमा १ लाख ३० हजार ८७० मात्रा, लुम्बिनीमा २ लाख ९८ हजार ९१० मात्रा, कर्णालीमा १ लाख २४ हजार ४ सय मात्रा र सुदूरपश्चिममा १ लाख ८७ हजार १२० मात्रा खोप पठाइएको छ। प्रदेशले खोपलाई सुरक्षित भण्डारण गर्ने र आ-आफ्नो जिल्लामा पठाउने उनले बताए।

उक्त खोप एक मात्रा लगाएपछि पुग्ने महाशाखाका निर्देशक डा रायमाझीले जानकारी दिए। उनका अनुसार नेपालमा हरेक वर्ष पाठेघरको मुखको क्यान्सरबाट ४ जना महिलाको मृत्यु हुने गरेको छ।

पाठेघरको मुखको क्यान्सरको जोखिम बढाउने मुख्य कारण ह्युमन पापिलोमा भाइरसको सङ्क्रमण रहेकाले त्यसविरुद्ध खोप लगाउनुपर्ने डा रायमाझीले बताए।

नेपालमा सबैभन्दा बढी महिलामा लाग्ने क्यान्सरमध्ये पाठेघरको मुखको क्यान्सर र त्यसपछि स्तन क्यान्सर रहेको छ।

झापामा ५५ हजार किशोरीलाई एचपीभी खोप लगाइने

झापामा ५५ हजार किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपिभी खोप लगाइने भएको छ।

जिल्लाका १५ वटै स्थानीय तहका विद्यालयभित्र र विद्यालय बाहिर रहेका ५४ हजार ९९९ जना किशोरीलाई एचपिभी खोप लगाइने स्वास्थ्य कार्यालय झापाका जनस्वास्थ्य अधिकृत प्रकाश पाठकले जानकारी दिए।

विद्यालयमा रहेका कक्षा ६ देखि कक्षा १० सम्मका किशोरी र विद्यालय बाहिर रहेका १० देखि १४ वर्षसम्मका किशोरीलाई खोप लगाइने उनले बताए।

जिल्लाका सबै पालिकाका स्वास्थ्य शाखा प्रमुख र स्वास्थ्य शाखा प्रमुखलाई खोपसम्बन्धी आवश्यक तालिम र अभिमुखीकरण दिइएको जनस्वास्थ्य अधिकृत पाठकले बताए।

“खोप अभियानका लागि तथ्याङ्क सङ्कलन, जनशक्ति व्यवस्थापनलगायत भइरहेको छ”, उनले भने। झापामा माघ २२ गतेदेखि २९ गतेसम्म एचपिभी खोप अभियान सञ्चालन हुनेछ।

समाचार स्वास्थ्य