हेटौंडा–५ लाई बालमैत्री वडा घोषणा गरिँदै

मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर ५ लाई बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गरिने भएको छ । विभिन्न सूचक पूरा गरेसँगै हेटौंडा–५ ले निकृष्ट बालश्रममुक्त, बालविवाह मुक्त तथा बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गर्ने तयारी गरेको हो ।

बिहीबार पत्रकार सम्मेलनको आयोजना गर्दै यही माघ ५ गते शनिबार ५ नम्वर वडालाई बालमैत्री शासनयुक्त वडा घोषणा गर्न लागेको वडाध्यक्ष सुशिल घिमिरेले जानकारी दिए ।

उनका अनुसार, ‘बालबालिकामा लगानी, सुनिश्चित भविष्यको थालनी’ भन्ने मुल नाराको साथ वडालाई बालमैत्री वडा घोषणा गर्न लागिएको हो ।

बालमैत्री स्थानिय शासनयुक्त वडा घोषणा मुल समारोहका संयोजक समेत रहेका उनले स्थानीय शासन घोषणा गर्न आवश्यक ५१ वटा सूचकहरुमध्ये केही सूचकहरु पूरा भइसकेको र केही पूरा हुने क्रममा रहेको बताए ।

यस वडाको कुल क्षेत्रफल ६ दशमलव ०७ वर्ग किलोमिटर रहेको छ । यस वडाको पूर्वमा वडा नं. ७ पश्चिममा वडा नं. २ उत्तरतर्फ मकवानपुरगढी र दक्षिणमा कर्रा खोला अवस्थित छ । यसको अधिकांस भागहरु अर्ध शहरी प्रकृतिका रहेका छन् ।

१९ वटा वडा रहेको हेटौंडा उपमहानगरपालिकामा पछिल्लो समयमा बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा हुने क्रम बढ्दो छ ।

 

समाचार समाज