पहाडी तथा हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना, बेलुकादेखि मौसममा क्रमिक सुधार आउने

पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव कायमै रहेकाले अहिले सुदूरपश्चिम र कर्णाली प्रदेशलगायत देशका पहाडी भागमा मौसम साधारणदेखि आंशिक बदलीको अवस्था छ । तराई मधेशमा भने हुस्सु लागेको र बाँकी भागमा मौसम सफा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आज दिउँसो सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशलगायत बाँकी प्रदेशका पहाडी भू–भागका केही ठाउँमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ । उच्च पहाडी तथा हिमाली क्षेत्रका केही ठाउँमा हल्का हिमपातको हुनसक्ने सम्भावना पनि छ ।

यस्तै सुदूरपश्चिम, कर्णाली, गण्डकी र बागमती प्रदेशका केही ठाउँमा अहिले पनि हल्का वर्षा भइरहेको छ । हिउँदयामको अन्तिममा अस्तिदेखि पश्चिमी वायु सक्रिय भएर देशका धेरै ठाउँमा वर्षा र हिमपात भएको हो । हिउँदेयामको अन्तिम दिन हिजो देशका धेरै ठाउँमा वर्षा र हिमपात भएकाे छ ।

गएराति काठमाण्डौ उपत्यकामा पनि पानी परेकाे छ । आज वर्षा कम हुने र बेलुकादेखि मौसममा क्रमिक रूपमा सुधार हुँदै जाने मौसमविद् हरिप्रसाद दाहालले बताउनुभएको छ । उहाँका अनुसार भोलिदेखि मौसममा पूर्णरूपमा सुधार हुनेछ । आजदेखि प्रि–मनसुन शुरू भएको छ ।

समाचार