अन्तर टोलविकास स्तरीय वडाध्यक्ष कप रनिङ्गसिल्ड फुडसल प्रतियोगितामा सुशासन टोल विजयी

९ चैत , मक्रान्चुली- मकवानपुरगढी गाउँपालिका वडा नं ३ फुटसलमा संचालन भएको टोलविकास स्तरीय वडाध्यक्ष कप रनिङ्गसिल्ड फुटसल प्रतियोगितामा सुशासन टोल विजयी भएको छ ।


फाइनल खेलमा कालिदेवि टोलविकास संस्था ‘ए’ लाई १३- ४ गोल अन्तरमा पराजित गर्दै सुशासन टोल विकास संस्थाले उपाधी हात पारेको हो ।


वडा भित्र रहेका ८ ओटा टोलविकास मध्ये ६ ओटा टोलविकास संस्थाहरुबाट ७ ओटा टोलीले खेलमा सहभागिता जनाएको थियो ।
खेलमा तेस्रो स्थान भने देविडाँडा टोलविकास संस्थाले हात पारेको छ । देविडाँडाले कालिदेवी ‘बी’ लाई पराजित गर्दै जित हात पारेको थियो ।


खेलमा पहिलो भएको टोलीले ३६ किलोको खसी , दोस्रो हुने टोलीले २४ किलोको खसी प्राप्त गरेको छ भने तेस्रो हुने टोलीले कुखुराको भाले प्राप्त गरेका छन् ।


वडा कार्यालयको आर्थिक सहयोगमा संचालन भएको खेल गत वर्षको विजेता टोली सुशासन टोल विकास संस्थाले आयोजना गरेको हो ।


३ नं वडाका वडा अध्यक्ष भागवत घिमिरेको प्रमुख आतिथ्यतामा खेलको समापन भएको थियो । समापन कार्यक्रममा आफ्नो धारणा राख्दै वडा अध्यक्ष घिमिरेले यस खेललाई वडाबाट पचास हजार रुपैयाँ प्रदान गर्दै आएकोमा आगामी वर्ष देखि एक लाख रुपैयाँ विनियोजित गरिने बताउनु भएको छ ।

खेलकुद मुख्य समाचार समाचार