मक्रान्चुलीमा घरपालुवा जनावर माथि जंगली जनावरको आक्रमण,एउटा कुकुर खायो अर्को घाइते,बाघ भएको शंका

१५ चैत,मक्रान्चुली- मकवानपुरगढी गाउँपालिका वडा नं ३ मोरङ्गेमा आज गएराती जंगली जनावरले एउटा कुकुर खाएको छ भने अर्को एउटा कुकुर घाईते बनाएको छ ।

स्थानीयवासी रोमनाथ रेग्मीले बताए अनुसार बिहिवार राती करिब २:४० को समयमा कुकुर माथी आक्रमण भएको र एउटा कुकुर खाएको तथा अर्को कुकुर घाईते अवस्थामा फेला परेको थियो । स्थानीयवासीहरुले टर्च बालेर खोज्दा बाघ झै जनावर देखिएको बताएका छन् ।

प्रत्यक्षदर्शी स्थानीय रामप्रसाद पौडेल र सुवास दहालले उक्त जनावर बाघ नै भएको बताएको रेग्मीले बताए ।

केहि दिन अघि पनि सोहि वडाको खरानीचोक स्थीत रामप्रसाद दहालको गोठमा बाँधेको गाईको बाच्छोलाई आक्रमण गरि मारेको बताइएको छ ।

यसरी पटकपटक घरपालुवा जनावर माथि आक्रमण हुन थालेपछि ३ नं बासी त्रसित भएका छन् ।

यसैबीच स्थानीयवासी त्रसित हुन थालेपछि ३ नं वडाका वडा अध्यक्ष भागवत घिमिरेले जिल्ला वन कार्यालयमा खबर गरिएको बताउनुभयो । जिल्ला वन कार्यालयको टोलीले आज (शुक्रबार) नै उक्त स्थानमा पुगी अनुसन्धानका लागि आवश्यक कदल चाल्ने जवाफ दिएको वडा अध्यक्ष घिमिरेले बताउनु भएको छ ।

मुख्य समाचार समाचार स्थानीय