हेटौंडामा महीको बजार फस्टाउँदै

हेटौंडा । हेटौंडामा पछिल्लो समय महीको बजार फस्टाउन थालेको छ । मही गर्मी मौसमका लागि स्वास्थ्यवर्द्धक पेय पदार्थ हो । महीमा विभिन्न पोषण तत्व पाइने भएकाले यसले पाचन प्रणाली, शरीरलाई स्वस्थ र तन्दुरुस्त बनाउन मद्दत गर्ने जानकारहरूको भनाइ छ । हेटौंडाका दुग्ध व्यवसायी स्याम सापकोटाका अनुसार हिजो आज हेटौंडामा मही धेरै खपत भइरहेको बताउँछन् ।

हेटौंडा बजार क्षेत्रमा मही मकवानपुरगढी, भिमफेदी, बकैया, मनहरी लगायतका क्षेत्रबाट आउने गरेको छ । पहिले चिसो पेय पदार्थको हेटौंडामा धेरैनै बिक्री हुने गरेको भएपनि अहिले भने महीको बिक्री धेरै बढेको छ । चिसो पेय पदार्थको तुलनामा मही निकै स्वस्थकर रहेको स्वास्थ्यकर्मीहरु बताउँछन् । गर्मीसंगै चिसो महिको स्वादमा रमाउन थालिएको हेटौंडा–५ का रामजी तिमल्सीना बताउँछन् । हेटौंडामा भोज, भतेर, पार्टी तथा शुभकार्यमा अन्य पेय पदार्थसँगै महीले पनि प्राथमिकता पाउन थालेको छ ।

उपयुक्त तापक्रम कायम गरी राखेमा महीको आयु मोटामोटी साताभर मात्रै हुन्छ । यसलाई कसरी लामो समयसम्म राख्न सकिन्छ भनेर प्रविधि खोजिएको मही अभियन्ता प्रह्लाद दाहाल बताउँछन् । मही तातोपनमा राखेमा छिटो नै अमिलो हुन्छ । ग्राहकले पनि अमिलो महीको गुनासो गर्ने व्यवासायीहरूको भनाइ छ । गर्मीका लागि चिसो छल्न उपयुक्त स्वस्थ्य पेय पदार्थका रुपमा महीलाई लिन थालिएको छ । पोषणविद्का अनुसार महीमा क्याल्सियम, माइक्रो प्रोटिन लगायतका पोषण तत्व हुन्छ । मही पिउनाले हड्डीको विकासमा सहायता गर्छ ।

समाचार