बागमती प्रदेशको २ हजार ६३० हेक्टर वनमा डढेलो‚ नियन्त्रण प्रयास फितलो

हेटौँडा : हावाहुरीको मौसम शुरु भएसँगै वन क्षेत्रमा डढेलो लाग्न थालेको छ। वर्षेनि डढेलोले ठूलो मात्रामा वनको क्षति हुने गरेको छ। डढेलो नियन्त्रणका विभिन्न प्रयास भए पनि रोकिन सकेको छैन।

वर्षेनि गर्मीयाममा वनमा डढेलो लाग्ने क्रम घट्नुको साटो बढ्दै गएको देखिन्छ। चैत शुरु भएसँगै सुक्खा बढ्ने हुनाले जेठसम्म प्रत्येक वर्ष वन–जंगलमा डढेलोका घटना बढ्ने गरेका छन्।

डढेलोका कारण मकवानपुरमा चिरान काठसहित खानेपानी पाइपदेखि धेरै सम्पत्तिको क्षति, जंगली जनावरको पनि आगलागीका कारण मृत्यु हुने गरेको छ।

त्यसैगरी जिल्लाका विभिन्न पालिकाको वनमा लागेको डढेलोले गत वर्ष आँखा हेर्न र सास फेर्नसमेत समस्या भएको थियो। मकवानपुरमा मात्रै होइन बागमती प्रदेशका १३ जिल्लासहित देशैभरि सुक्खायाममा लाग्ने वन डढेलोले रूख तथा बोटविरुवा, जंगली जनावरको विनाश हुनुका साथै वातावरण पनि प्रदूषित हुने गरेको छ।

२६ सय ३० हेक्टर वनमा डढेलो

यो वर्ष पनि बागमती प्रदेशका ४ जिल्लाको २६ सय ३० दशमलव ९५ प्रतिशत हेक्टरको वनमा डढेलो लागिसकेको छ। सुक्खायाम शुरु भएसँगै प्रदेशको विभिन्न जिल्लामा रहेको वन क्षेत्रमा डढेलो लाग्न थालेको हो।

बागमती प्रदेशको वन तथा वातावरण मन्त्रालयका सूचना अधिकारी संजीव सुवेदीका अनुसार प्रदेशको मकवानपुर, नुवाकोट, दोलखा र रसुवाको वनमा डढेलो लागेको हो।

उनले अन्य जिल्लाको वनमा पनि डढेलो लागेको हुन सक्ने भए पनि हालसम्म आफूहरूले त्यसको विवरण नपाएको बताए।

सुवेदीका अनुसार यो चैतमा मात्रै मकवानपुर जिल्लाको २५ सय ३६ हेक्टर, नुवाकोटको ८७ दशमलव ३ हेक्टर, दोलखाको २३ दशमलव ५५ हेक्टर र रसुवा जिल्लाको ८४ दशमलव १ प्रतिशत हेक्टर वनमा डढेलो लागेको छ।

सुवेदीले प्रदेशका १३ वटै जिल्लासँग डढेलोको विवरण माग गरेको भए पनि हालसम्म ४ वटा जिल्लाले मात्रै विवरण पठाएको भन्दै डढेलोको क्षेत्रफल बढ्न सक्ने बताए।

उनले भने‚ ‘हामीले प्रदेशका १३ वटै जिल्लालाई डढेलोको रिपोर्ट पठाउन भनेका छौँ तर हालसम्म ४ वटा जिल्लाले मात्रै पठाएकाले २६ सय ३० दशमलव ९५ हेक्टरमा डढेलो लाग्यो भनिएको हो। यसको क्षेत्रफल बढ्न पनि सक्छ।’

एकजनाको मृत्यु ३८९ रुख नष्ट

सुवेदीका अनुसार डढेलोले मकवानपुर जिल्लामा एकजनाको मृत्यु भएको छ भने ३८९ रुख जलेर नष्ट भएका छन्। त्यसैगरी दोलखामा ३ बंगुर जलेर क्षति भएको सूचना अधिकारी सुवेदीले बताए।

छैन पूर्वतयारी

बागमती प्रदेशको कुल क्षेत्रफलको ५९.२७ प्रतिशत अर्थात् १२ लाख ४३ हजार ८४४ हेक्टर जमिन वन क्षेत्रले ओगटेको छ। निकुञ्जसमेत रहेको बागमती प्रदेशका यी वन जंगलमा लोपोन्मुख जंगली जनावर पनि छन्।

डढेलोले रूख तथा बोटबिरुवाको मात्रै क्षति हुँदैन त्यस्ता लोपोन्मुख जंगली जनावरको पनि क्षति हुने गरेको छ।

वातावरण प्रदूषणले सास फेर्नमात्र समस्या होइन गम्भीर प्रकारका रोगसमेत लाग्ने गर्छ तर गम्भीर समस्याको रूपमा वर्षेनि निम्तने डढेलो नियन्त्रणका लागि बागमती प्रदेश सरकारले ठोस पूर्वतयारी गरेको पाइँदैन।

उसो त प्रदेश सरकारसँग अघिल्लो वर्ष प्रदेशको कति क्षेत्रफल वनमा डढेलो लागेको थियो? के कति क्षति भएको थियो भन्ने तथ्यांकसमेत छैन।

वन मन्त्रालयसँग गत वर्ष कुन जिल्ला वन डढेलोबाट बढी प्रभावित भयो भन्ने तथ्यांकसमेत छैन। सुक्खायाम लागेर डढेलो समेत शुरु भइसक्दा समेत डढेलो नियन्त्रणका लागि प्रदेश सरकारले आवश्यक पूर्वतयारीसमेत गरेको छैन।

सप्ताहव्यापी कार्यक्रमअन्तर्गत जिल्लास्थित डिभिजन वन कार्यालयबाट सचेतनामूलक कार्यक्रम गरिए पनि डढेलो नियन्त्रणका लागि सरकारले पूर्वतयारीका योजना भने नबनाएको हो।

मन्त्रालयका सूचना अधिकारी सुवेदीका अनुसार हालसम्म मन्त्रालयले डढेलो नियन्त्रणका लागि प्रदेशका केही जिल्लालाई ह्याण्डपम्पलगायत उपकरण वितरण गरेको छ।

तर वन डढेलो लागेको खण्डमा आगो निभाउन आवश्यक पर्ने कति यन्त्रहरू प्रदेशमा उपलब्ध छ भने तथ्यांक पनि मन्त्रालयसँग छैन।

आगो निभाउन आवश्यक कुन कुन यन्त्र कुन जिल्लामा छन् वा छैनन् भन्ने तथ्यांक पनि मन्त्रालयसँग छैन।

डढेलो लगाउनेलाई हुँदैन कुनै कारबाही

मकवानपुरको डिभिजन वन कार्यालयले धेरै वर्षदेखि डढेलो लगाउनेमाथि कारबाही गर्न सकेको छैन।

कार्यालयका सूचना अधिकारी दीपक अधिकारीका अनुसार डढेलो लगाउने पक्राउ नपर्दा र कारबाही हुन नसक्दा पनि यसलाई नियन्त्रण र रोकथाम गर्न नसकिएको हो।

डढेलो लगाउनेलाई ६० हजार जरिवाना, ३ वर्ष जेल सजाय वा दुवै हुनसक्ने कानुनी प्रावधान छ तर डढेलो लगाउनेलाई कुनै कारबाही नभएको अधिकारी नै बताउँछन्।

उनले डढेलो लगाउनेको पहिचान हुन नसकेको र पहिचान भएमा प्रमाण पुग्न नसक्ने भएकाले दोषी उम्किँदै आइरहेको बताए।

कारबाही गर्न डिभिजन वन अक्षम रहेका कारण पनि डढेलो नियन्त्रण हुन नसकेको गुनासो सुनिने गरेको छ। डढेलो स्थानीयहरूको लापरवाही र वन पैदावारको अनुचित लाभ लिन पनि धेरै डढेलो लाग्ने गरेको अनुसन्धानबाट पत्ता लागेको अधिकारीले जनाए।

मकवानपुरमा लागेका अधिकांश डढेलो ‘नियोजित’ भएको अधिकारीको भनाइ छ। चुरोटलगायत प्रज्वलनशील वस्तु जंगल क्षेत्रमा फाल्ने, आगो पूर्णरूपमा ननिभाउँदा डढेलो लाग्नेलगायतका थुप्रै कारण रहेको उनी बताउँछन्। प्राकृतिक कारणले वनमा डढेलो लाग्ने घटना ज्यादै न्यून रहेको उनको भनाइ छ।

जनचेतना अभावमा डढेलो बढ्यो : मन्त्री सिलवाल

वन तथा वातावरणमन्त्री कृष्णप्रसाद सिलवाल जनचेतनामा कमी हुँदा डढेलो बढेको बताउँछन्।

‘मानव र वन्यजन्तुबीचको द्वन्द्व अलि बढी नै भएको छ। सिन्धुपाल्चोक, काभ्रे, रामेछापलगायत जिल्लामा यस्ता द्वन्द्व अलि बढेका छन्,’ मन्त्री सिलवालले भने, ‘त्यसबाट छुटकारा पाउन जङ्गलमा आगो लगाइदिने गरेको पाइन्छ।’

मन्त्री सिलवालले ख्यालठट्टा गरेर आगो लगाइदिने, घाँसदाउरा गर्नेले डढेलो लगाइसकेपछि राम्रो घाँस पलाउँछ र दाउरा काट्न सजिलो हुन्छ‚ चौपाया चराउन पाइन्छ भन्ने मानसिकता भएका मानिसहरूको कारणले वनमा डढेलो लाग्ने गरेको बताए।

मन्त्री सिलवालले डढेलो नियन्त्रणमा डिभिजन वनलाई नै जिम्मा दिएको बताउँदै वन डढेलो नियन्त्रण गर्न मन्त्रालयले फागुनदेखि ४ महिना वन हेरालु नियुक्तिका लागि बजेटको व्यवस्था गर्नुका साथै डढेलो नियन्त्रणको प्रयासमा अघि बढेको जानकारी दिए।

 

समाचार