मकवानपुरबाट वैदेशिक रोजगारीमा जाने महिला बढे

हेटौंडा । मकवानपुरबाट वैदेशिक रोजगारीमा जाने महिला बढेका छन् । खाडी मुलकमा होस या अरु विकसीत मुलुकमा बैदेशीक रोजगारीका लागि जाने महिलाको संख्या मकवानपुरमा निकै बढ्दै गएको छ । बिशेषगरी दुवइ, कतार, कुवेत, मलेसीयामा जाने महिलाहरु पछील्लो समयमा निकै बड्दै गएका छन् ।

त्यसैगरी जापाल, अस्टे«लिया, क्यानडा, बेलायत, अमेरीकामा भने पहिले बिद्यार्थी भिसामा जाने र त्यहाँ धेरै समय बिभीन्न क्षेत्रमा महिलाहरु काम गर्न थालेका छन् । दुवइमा आएर काम गर्ने महिलाहरुको संख्या निकै बढ्दै गएको हेटौंडाको चौकीटोलबाट कामका लागि दुवइ पुगेकी मनिका कार्की बताउँछीन ।

यस्तै, वैदेशिक रोजगार विभागले सार्वजनिक गरेको पाँच वर्षको तथ्याङ्कले वैदेशिक रोजगारीमा जाने महिलाको सङ्ख्या बर्सेनि वृद्धि भएको देखाएको हो ।

विभागका अनुसार वैदेशिक रोजगारीमा जाने महिलाको सङ्ख्या पाँच वर्षअघि पाँच प्रतिशत रहेकामा अहिले ११ प्रतिशत पुगेको छ । यो समग्र श्रम स्वीकृतिको हिस्सा हो । अघिल्लो आर्थिक वर्ष २०८०/८१ मा सात लाख ४१ हजारले श्रम स्वीकृति लिएकोमा ८० हजार १७२ जना महिला रहेको थियो । जुन १०.८२ प्रतिशत हुन आउँछ । सरकारले वैदेशिक रोजगारीमा घरेलु श्रमिकका रूपमा जाने महिलाको श्रम स्वीकृति रोक्का गरे पनि पछिल्ला पाँच वर्षको तुलनामा आव २०८०/८१ मा सबैभन्दा बढी महिलाले विदेश जान श्रम स्वीकृति लिएका छन् । २०७४ सालमा संसद्को परराष्ट्र तथा श्रम सम्बन्ध समितिको अध्ययनले घरेलु श्रमिकका रूपमा जाने महिला असुरक्षित रहेको जनाउँदै रोक्न सरकारलाई निर्देशन दिएपछि बिचमा विदेश जाने महिलाको सङ्ख्या घट्दै गएको थियो ।

विगत पाँच वर्षका बिचमा वैदेशिक रोजगारीमा जाने महिलाको सङ्ख्या छ प्रतिशतले वृद्धि भएर गत वर्षसम्म आइपुग्दा सबै श्रम स्वीकृतिमा ११ प्रतिशत पुगेको छ । यो हेर्दा बिदेसिने महिलाको सङ्ख्या प्रत्येक वर्ष १.२० प्रतिशतका दरले वृद्धि भएको देखिन्छ ।

विभागका निर्देशक गुरुदत्त सुवेदीले विदेशमा नेपाली महिलाका लागि रोजगारीका अवसर बढेसँगै खाडीको युएई, मलेसिया, साइप्रस र सरकार–सरकार सम्झौता भएका देश दक्षिण कोरिया तथा इजरायल जान श्रम स्वीकृति लिनेको सङ्ख्या बढेको जानकारी दिनुभयो ।

नेपालले औपचारिक रूपमा १११ देश वैदेशिक राजगारीका लागि खुला गरेको छ । अधिकांश महिला केयरगिभर, नर्स र घरेलु श्रमिकका रूपमा संयुक्त अरब इमिरेट्स (युएई) कतार, साउदी अरेबिया, कुवेत, साइप्रस, जोर्डन जस्ता गन्तव्य मुलुकमा जाने गरेका छन् ।

वैदेशिक रोजगारीमा जाने कुल सङ्ख्या हेर्दा अधिकांश तराईका जिल्ला र त्यसमा पनि मधेशको बाहुल्य भए पनि महिला श्रम आप्रवासनको प्रकृति भने फरक छ । वैदेशिक रोजगारीमा जानेमा कोशी, गण्डकी, बागमती र लुम्बिनीका मिश्रित समुदायका महिला धेरै गएका छन् ।

समाचार