आन्दोलनरत शिक्षकलाई वार्तामा आउन आग्रह

हेटौंडा । सरकारले आन्दोलनरत शिक्षकलाई वार्तामा आउन आग्रह गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आफ्ना माग पूरा गर्नेबारे सरकारसँग वार्तामा आउन आह्वान गरेको हो ।
संसदको शिक्षा समितिमा विचाराधीन रहेको विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक २०८० मा आफ्ना सरोकारहरु सम्बोधन हुनुपर्ने माग राख्दै साता दिनदेखि शिक्षकहरु आन्दोलित छन् ।
यसअघि चैत २१ र २२ गते सरकारले वार्ताका लागि बोलाए पनि नेतृत्वकर्ता शिक्षक महासंघले अस्वीकार गरेको थियो । शिक्षकहरूले यसअघि पटक पटक भएका सम्झौता कानुनमा समेट्न माग गरेका छन् । तर उनीहरुले राखेका माग संविधानसँग बाझिने भएकाले पूरा गर्न सरकारलाई मुस्लिक हुँदै आएको छ ।
मन्त्रालयका सहसचिव एवं प्रवक्ता शिवकुमार सापकोटाले महासंघलाई बुधबार बिहान ११ बजे मन्त्रालयमा वार्ताका लागि उपस्थित हुन अनुरोध गरिएको जानकारी दिए ।

समाचार