हेटौंडा-७ को बेलिब्रिज जीर्ण बन्दै, मालवाहक सवारीलाई कडाइ गर्न माग

हेटौंडा । कान्तिलोकपथबाट हेटौंडा ७ को वडा कार्यालय जोड्ने कर्रा खोलामा निर्माण भएको बेली ब्रिज जीर्ण बन्दै गएको छ। न्युरेनी चिसापानिबाट नागस्वती जोड्ने ४६ मिटर लम्बाइ भएको पुल भारवहन क्षमता भन्दा बढीका सवारी चल्दा पुल जीर्ण बन्दै गएको हो।

मालवाहक सवारी चलाउन प्रतिबन्ध लगाएपनि लुकीछिपी अटेर गरी सवारी चलाउँदा पुल जीर्ण बनेको हेटौंडा ७ का वडाअध्यक्ष दामोदर गौतमले बताएका छन्। अघिल्लो वर्ष जसोतसो मर्मत सम्भार गरिपनि यस पटक बजेट अभावमा मर्मत सम्भार हुन नसकेको वडाध्यक्ष गौतमले बताए । अहिले पुलको नट ढिला भएको, फलामको पाता उप्केकोले जुनसुकै बेला पुल भत्किन सक्ने र दुर्घटना निम्तिन सक्ने स्थानीयले दुखेसो पोखेका छन्। पुलबाट दैनिक २ दर्जन नदिजन्य पदार्थ

बोकेका ट्याक्टर द्रुत गतिमा हुइकिने गरेको एक स्थानीयले बताएका छन्। पुल जीर्ण बनाउनमा नदीजन्य पदार्थ बोकेका ट्याक्टरले प्रमुख भूमिका रहेको स्थानीयको भनाई छ। उनीहरूले मालवाहक सवारीलाई नियन्त्रण गर्न सुरक्षा निकायले ध्यान दिनु पर्ने र उपमहानगरपालिकाले मर्मतमा चासो दिनु पर्ने बताएका छन् ।

हेटौंडा-७ घर भई बेल्जियम निवासी सहदेव गौतमको पहलमा निर्माण गरिएको पुलको तत्कालीन प्रधानसेनापति महारथी छत्रमान सिंह गुरुङ र एनआरएन अध्यक्ष डाक्टर उपेन्द्र महतोले २०६६ साल असोज ३० गते समुद्घाटन गरेका थिए। वन देवी बेलिब्रिज निर्माण भएपछि कान्तिलोकपथबाट वडा कार्यालय जाने सेवाग्राही, हेटौंडा-७ र हेटौंडा-१५ का स्थानीय र मकवानपुरको पूर्वी भेग जानेहरूलाई सुविधा पुगेको छ।

समाचार