जनताले बिचार भन्दा व्यवहार बुझ्छन्:  प्रह्लाद लामिछाने



मकवानपुर । संविधान सभा सदस्य एवम् नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य प्रह्लाद लामिछाने जनताले पार्टी र नेताको विचार नभई  ब्यबहार बुझ्ने बताए ।

शुक्रबार ३२औं मदन-आश्रीत स्मृति दिवसको सन्दर्भमा मदन भण्डारी फाउन्डेसन, मकवानपुरद्वारा आयोजित “जनताको बहुदलीय जनवाद: राष्ट्र निर्माणको आधार” बिषयक बहस कार्यक्रममा लामिछानेले राजनीतिक दलहरुको विचार र व्यवहारमा एकरुपता नभएको बताए ।

दलहरुका नेता कार्यकर्ताको खानपिन, उठबस, आनीबानी र समग्र व्यवहार हेर्दा सबै उस्तै देखिने भएकोले अबको पुस्ताले दलको बिश्वास गर्न छोडेको उनल बताए ।
लामिछाने भन्छन्, ‘जबजले शान्तिपूर्ण प्रतिश्पर्धालाई मात्रै अंगिकार गर्दा वर्गसंघर्ष र वर्ग पक्षधरतालाई भुलेको हो कि ?’

‘जबज अनुसार शक्ति पृथकीकरणमा विश्वास गर्ने पार्टीले किन प्रधानन्यायाधीश खिलराज रेग्मीलाई प्रधानमन्त्री बनाएको ?’ लामिछानेले जिज्ञासा राखे ।

कार्यक्रममा अधिवक्ता मुकुन्द अधिकारीले जनताको बहुदलीय जनवाद: राष्ट्र निर्माणको आधार बिषयक कार्यपत्र पेश गरेका थिए ।

कार्यपत्रमाथि डा. शंकर उपाध्याय, प्राध्यापक घनश्याम घिमिरेले, हिदम लामाले टिप्पणी गरेका थिए ।

भण्डारी फाउन्डेसनका अध्यक्ष रघुनाथ खुलालको अध्यक्षतामा भएको कार्यक्रम नेकपा एमाले केन्द्रिय सल्लाहकार समिती सदस्य डोरमणी पौडेलको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा नेपाली कांग्रेस मकवानपुर अध्यक्ष बुद्ध लामा, एमाले नेता रामेश्वर राना, केदार न्यौपाने, जिल्ला उपाध्यक्ष हिदम लामा, सीता बिष्ट, बोलबहादुर कार्की, रमिला सापकोटा लगायतको आतिथ्यता रहेको थियो ।

राजनीति समाचार